रामपुर (पाल्पा) । पाल्पा जिल्लामा गएको एक वर्षमा २३३ वटा उद्योग खारेजी भएको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा २३३ वटा खारेजी भएका छन् भने ८४ वटा उद्योग दर्ता भएका छन् ।
यस्तै वाणिज्यतर्फ खारेजी १६९ वटा र दर्ता ७५ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिए । उनका अनुसार आ.व. ०८१/०८२ मा उद्योग क्षेत्रमा रु १९ करोड २६ लाख र वाणिज्यतर्फ रु १६ करोड ६ लाख लगानी रहेको छ ।
गत आवमा उद्योग दर्ताबाट रु १९ लाख ३८ हजार १६२ राजश्व र खारेजीबाट रु २७ लाख २० हजार ८४६ राजश्व उठेको छ । आ.व. ०८०/०८१ मा १७७ उद्योग खारेजी, ९७ वटा दर्ता भएका छन् भने वाणिज्यतर्फ १८६ खारेजी र ९१ वटा दर्ता भएको छ ।
स्थानीय तहमा पाँच लाख सम्मका उद्योग दर्ता हुने हुँदा कार्यालयमा खारेजीको सङ्ख्या बढेको हो । व्यवसायी तथा उद्योगीलाई सहज पहुँचका लागि स्थानीय तहमा नै रु पाँच लाख सम्मका उद्योग दर्ता गर्न पाउने व्यवस्थाले सहज भएको छ ।
जिल्लामा पछिल्ला वर्षमा घरेलु तथा साना उद्योग कार्यालयबाट नाम सारी गरी स्थानीय तहमा स्थानान्तरण गर्ने बढेको पाइएको छ ।
Comments are closed.