रामपुर (पाल्पा) । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । गत भदौ २१ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित पदाधिकारीले आइतबार सपथसंगै पदभार ग्रहण गरेका हुन् ।
निर्वाचन पश्चात् भदौ २२ गते साँझ मतगणना सम्पन्न भएर पनि २३ गतेदेखि सुरु भएको मुलुकको विसम परिस्थितिका कारण पदाधिकारीको सपथ तथा पदभार ग्रहण हुन सकेको थिएन । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको तेस्रो अधिवेशनबाट समिति गठनका लागि गठन गरेको निर्वाचन समितिले कार्यक्रम गरी सपथ ग्रहण गराएको हो ।
निर्वाचन समितिका संयोजक सुर्यदर्शन पण्डितको अध्यक्षतामा भएको बधाई तथा सपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति एवं संस्थाका निवर्तमान अध्यक्ष राजुप्रसाद श्रेष्ठ रहेका हुन् । निर्वाचन समितिका संयोजक पण्डितले नवनिर्वाचित अध्यक्ष कमलराज भट्टराई, उपाध्यक्ष विष्णुमाया ढकाल, सचिव निलकण्ठ पोखरेल, कोषाध्यक्ष भोजराज भट्टराईसहित कार्यसमितिका पदाधिकारी, ब्लक संयोजक र लेखा समितिका पदाधिकारीलाई प्रमाण पत्र वितरण तथा सपथ ग्रहण गराएका हुन् ।
निवर्तमान अध्यक्ष श्रेष्ठले नवनिर्वाचित अध्यक्ष भट्टराईलाई माइन्युट प्रदान गरी पदभार हस्तान्तरण गरेका छन् । प्रमुख अतिथि श्रेष्ठले नयाँ योजना कार्यान्वयनसँगै खानेपानीको वितरण र व्यवस्थापन गर्दै अघि बढ्न शुभकामना दिए । उनले संस्था सबैको साझा भएकाले सरोकारवालासँग समन्वय र सहकार्य गर्दै अघि बढ्न अनुरोध गरे । फरक प्रसंगमा उनले जेनजी आन्दोलनले मुलुकमा नयाँ सन्देश दिएको बताउँदै अब दलहरु सच्चिएर युवा पुस्तालाई अघि बढाउनु आवश्यक रहेको बताए ।
रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले शुभकामना दिदै शुद्ध पिउने पानी उपभोग गर्न पाउने नागरिकको अधिकारको सुनिश्चित गर्दै अघि बढ्न अनुरोध गरेका छन् । नगरपालिका खानेपानी व्यवस्थापनका लागि आवश्यक सहयोग र समन्वय गर्न सदा तयार रहेको नगर प्रमुख थापा बताउँछन् ।
नवनिर्वाचित अध्यक्ष भट्टराईले विद्युत महसुल वृद्धि हुँदा समस्या भएको बताउँदै तत्काल बैठक राखी घटाउनका पहल गर्ने, आवश्यक खानेपानी आपूर्तिका लागि व्यवस्थापनमा ध्यान दिने, नयाँ योजना मागसँगै कार्यान्वनका लागि सरोकारवालासँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
Comments are closed.