शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेको छ ।

नेप्सेले गएको चैतदेखि धितोपत्र बजारमा दिउँसो २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य हुने व्यवस्था ल्याएको थियो । त्यो व्यवस्था अहिलेलाई स्थगित गरिएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए ।

उनका अनुसार यो व्यवस्था स्थगित गर्नका लागि नेपाल धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको हो । सूचना अधिकारी पराजुलीका अनुसार परिवर्तित व्यवस्थाको आज प्राविधिक परीक्षण हुनेछ । भोलि सार्वजनिक बिदा परेका कारण मङ्गलवार देखि यो व्यवस्था लागू गरिने उनले बताए ।

गएको फागुनमा धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौँथो संशोधन) २०८१ संशोधन गरी विनियमावलीको विनियम ११ उपविनियम (७) मा २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने र त्यस अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिने व्यवस्था राखिएको थियो ।

You might also like

Comments are closed.