काठमाडौं । आइतबार सेयर बजार १११.७० अंकले बढेको छ । साताको पहिलो दिन खुलेको बजारमा उतारचढावबिच सो बराबरको वृद्धि देखिएको हो । योसँगै बजार परिसूचक २६२३.६२ अंकमा पुगेको छ ।
अघिल्लो दिन अर्थात् बिहीबार बजार परिसूचक नकारात्मक सर्किट लाग्दै १६० अंकले घटेर बन्द भएको थियो । आइतबार सुरुमा उतारचढाव देखिएको बजार मध्यान्हपछि निरन्तर बढ्दै जाँदा उच्च वृद्धिसहित बन्द भएको हो ।
बिहीबारको गिरावटपछि सरकारले पुँजी बजारबारे अध्ययन गर्न दुई वटा काम गरेको थियो । पहिलो पुँजी बजारमा देखिएको विकृति अन्त्य गर्न सुझाव दिन भन्दै कार्यदल बनाएको थियो भने अर्कोतिर नेपाल स्टक एक्सचेन्जको अन्तिम मूल्य निर्धारण प्रणालीमा संशोधन गर्ने निर्णय गरेको थियो ।
दिनभरको कारोबारले उक्त निर्णयको सकारात्मक प्रभाव रहेको देखाएको छ । आज बजारमा ९ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज निर्जीवन बिमा र म्युचुअल फन्डबाहेक सबै सूचक बढेका छन् । निर्जीवन बिमा समूहमा सबैभन्दा धेरै ३.५३ प्रतिशत मूल्य घटेको छ भने ट्रेडिङ समूहमा सबैभन्दा धेरै ८.३३ प्रतिशतले बढेको छ ।
त्यस्तै, इन्भेस्टमेन्ट समूहमा ७.७७ प्रतिशत, विकास बैंकमा ६.३४ प्रतिशत, फाइनान्स समूहमा ६ प्रतिशत, हाइड्रो समूहमा ५.९८ प्रतिशत तथा जीवन बिमा समूहमा ५.९३ प्रतिशत वृद्धि भएको छ । त्यस्तै, उत्पादनमूलक क्षेत्रमा ४.८६ प्रतिशत, बैंकिङमा ४.७६ प्रतिशत तथा माइक्रो फाइनान्समा ४.०३ प्रतिशत मूल्य बढेको छ । बजारमा आज १६ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।
सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडबिल फाइनान्स, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपि पावर, आँखुखोला जलविद्युत्, बलेफी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशतले घटेको छ ।
आज बजारमा सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको भयो । उक्त कम्पनीको ८३ करोडको कारोबार हुँदा दोस्रोमा रहेको हिमालयन रिइन्स्योरेन्सको ४८ करोड बराबरको कारोबार भयो ।
Comments are closed.