काठमाडौं । गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनासम्बन्धी २३ अर्ब २२ करोड ७८ लाख रुपैयाँ बराबरको बीमा दाबी गरिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले अहिलेसम्म १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ बराबरको भुक्तानी गरिसकेका छन् ।
प्राधिकरणका अनुसार बीमाबापतको रकम शीघ्र रूपमा उपलब्ध गराउन देखाएको सक्रियताका कारण बीमितहरूले अग्रिम भुक्तानी समेत प्राप्त गरिरहेका छन् । हालसम्म ३ हजार ९९ वटा बीमा दाबी आवेदन दर्ता भएका छन् । तीमध्ये सम्पत्ति बीमा ६५३, मोटर बीमा २,२०६, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १९०, परिवहन बीमा १२ र अन्य बीमा ३८ वटा रहेका छन् ।
प्रदेशगत विवरणअनुसार वाग्मती प्रदेशमा सर्वाधिक १,६६९, कोशीमा ३९६, मधेसमा ३५५, गण्डकीमा २१२, लुम्बिनीमा २४६, कर्णालीमा २२ र सुदूरपश्चिममा १९९ वटा बीमा दाबीका आवेदन परेको बीमा प्राधिकरणले जनाएको छ । यो विवरण असोज २३ गतेसम्मको हो ।
बीमा कम्पनीहरूमध्ये सिद्धार्थ इन्स्योरेन्समा सर्वाधिक ५ अर्ब ६१ करोड ४४ लाख रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको छ । सो कम्पनीले ५९ करोड ४४ लाख रुपैयाँ बीमितलाई भुक्तानी गरिसकेको छ । त्यस्तै, दी ओरियण्टल इन्स्योरेन्समा ५ अर्ब २४ करोड ४७ लाख रुपैयाँ बराबरको दाबी परेको छ र कम्पनीले ५ लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको छ ।
यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ बराबरको दाबी दर्ता भई ३० करोड ४३ लाख रुपैयाँ भुक्तानी गरिएको छ । शिखर इन्स्योरेन्समा २ अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको बीमा दाबी भएको र ३१ करोड ९४ लाख रुपैयाँ बीमितलाई उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।
हाल देशभर माइक्रो इन्स्योरेन्ससहित १८ निर्जीवन बीमा कम्पनीहरू सञ्चालनमा छन् । प्राधिकरणका अनुसार भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण धेरै निजी संरचनामा बीमा दाबी परे पनि सरकारी तथा सार्वजनिक सम्पत्तिको भने बीमा नभएको पाइएको छ ।
Comments are closed.