काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार गत भदौ मसान्तमा धितोपत्र बजारको पुँजीकरण ४४ खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय वृद्धि हो ।
२०८१ भदौ मसान्तमा बजार पुँजीकरण ४१ खर्ब ३ अर्ब ६२ करोड रुपैयाँ थियो । त्यतिबेला बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ७१.८८ प्रतिशत रहेकोमा, यस वर्ष भदौ मसान्तमा यो अनुपात बढेर ७३.१५ प्रतिशतमा पुगेको छ ।
गत भदौ मसान्तमा नेप्से सूचकांक २६७२.२५ अंकमा पुगेको छ, जुन अघिल्लो वर्षको २५८०.७६ अंकभन्दा माथि हो । सो अवधिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ७६ पुगेको छ, जबकि अघिल्लो वर्ष २ सय ६७ मात्र थिए ।
सूचीकृत कम्पनीहरूमध्ये १ सय ३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९४ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका कम्पनीहरू रहेका छन् ।
धितोपत्र बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको हिस्सा ५२.९ प्रतिशत रहेको छ । त्यसपछि जलविद्युत कम्पनीको १४.९ प्रतिशत, लगानी कम्पनीको ७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ५.६ प्रतिशत, व्यापारिक संस्थाको ४.९ प्रतिशत, होटेलको २.७ प्रतिशत र अन्य समूहहरूको ११.३ प्रतिशत हिस्सा रहेको छ ।
नेपाल स्टक एक्सचेन्जमा गत भदौ मसान्तसम्म सूचीकृत ८ अर्ब ९१ करोड कित्ता शेयरहरूको चुक्ता मूल्य ८ सय ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०८२/८३ को दुई महिनाभित्र १२ अर्ब ७८ करोड बराबरको साधारण शेयर, १ अर्ब ८३ करोड बराबरको बोनस शेयर, १ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र ९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल १७ अर्ब रुपैयाँ बराबरका नयाँ धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६ अर्ब १८ करोड बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड बराबरको हकप्रद शेयर र ९९ करोड ४७ लाख बराबरको साधारण शेयर गरी कुल १० अर्ब ९५ करोड बराबरका धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको जनाएको छ ।








Comments are closed.