नेप्से कर्मचारीको आन्दोलन स्थगित हुँदै

काठमाडौं । आफूहरुले पाउनुपर्ने बोनसको दरमा असन्तुष्टि जनाउँदै निरन्तर आन्दोलनमा रहेका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारी अब आन्दोलन स्थगित गर्ने तयारीमा छन् । नेप्से कर्मचारी संघका अनुसार बुधबार अन्तिम छलफलपछि भोलि (बिहीबार)देखि आन्दोलन स्थगित गर्ने सहमति बन्ने सम्भावना छ ।

नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले बोनससम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतको निर्णयलाई सम्मान गर्दै अस्थायी रूपमा आन्दोलन रोकिने बताए । “हामी आज पनि आन्तरिक छलफलमा छौँ। सम्भवतः भोलिदेखि आन्दोलन स्थगित गर्छौँ,” थापाले भने, “बोनसको विषयमा अदालतले व्याख्या गर्ला, हामी अदालतको निर्णय मान्न तयार छौँ ।”

५ प्रतिशत बोनस माग, अर्थ मन्त्रालय १ प्रतिशतमै अडिग

नेप्सेका कर्मचारीले विगत केही वर्षदेखि ५ प्रतिशत बोनस पाउनुपर्ने माग गर्दै आएका छन् । तर अर्थ मन्त्रालयले १ प्रतिशत बोनस मात्र वितरण गर्न पत्राचार गर्दै आएको र यही निर्णय कार्यान्वयन गर्न दबाब दिन थालेपछि कर्मचारी असन्तुष्ट बनेका थिए ।

बोनसकै विषयमा असन्तुष्टि जनाउँदै कर्मचारीले लगातार ३७ दिनदेखि आंशिक र चरणबद्ध आन्दोलन गरेका थिए। यस क्रममा कार्यालयमा काम–कारबाही प्रभावित भएका थिए ।

कर्मचारी संघले बोनसका विषयलाई कानूनसम्मत रूपमा समाधान गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो र सोही मुद्दा अहिले विचाराधीन छ । कर्मचारी पक्षले नेप्से नाफामुखी संस्था (कम्पनी) भएकाले कर्मचारीले पूर्ण बोनस पाउनुपर्ने तर्क गर्दै आएको छ ।

आन्दोलन स्थगित गर्ने तयारीसँगै नेप्सेमा कामकाज सामान्यतर्फ फर्किने अपेक्षा गरिएको छ। कर्मचारी संघले अदालतको अन्तिम फैसला आएपछिमात्र बोनस वितरणबारे स्पष्टता आउने बताएको छ । अदालतले दिने व्याख्या–व्यवस्था अनुसार नेप्से कर्मचारीले बोनस पाउने दर र व्यवस्था टुंगो लाग्नेछ ।

You might also like

Comments are closed.