काठमाडौं । सरकारसँग २ लाख १८ हजार टन रासायनिक मल आपूर्ति चरणमा रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ९ कात्तिकसम्म २ लाख १८ हजार ३२ टन रासायनिक मल आपूर्ति चरणमा रहेको जनाइएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनीको ४४ हजार ६ सय ३८ टन र साल्ट ट्रेडिङ कर्पोरेसनको २४ हजार ३ सय ३२ टन युरिया आपूर्ति चरणमा छ । कृषि सामग्रीले युरिया, डीएपी समेत गरी कुल १ लाख ३३ हजार १ सय ८० टन र साल्ट ट्रेडिङले युरिया, डीएपी र पोटास समेत कुल ८४ हजार ८ सय ५२ टन बराबर आपूर्ति गरेका छन् ।
मन्त्रालयका अनुसार हाल १ लाख २० हजार ९२ टन मल भने मौज्दात छ । त्यसमा कृषि सामग्री कम्पनीमा डीएपी, युरिया, पोटास गरी कुल ७१ हजार ३ सय ५८ टन र साल्ट्र ट्रेडिङमा ४८ हजार ७ सय ३३ टन बराबर रासायनिक मल मौज्दात छ । मन्त्रालयका अनुसार हिउँदे खेतीलाई पर्याप्त मात्रामा रासायनिक मल मौज्दात छ । गत साउनदेखि ९ कात्तिकसम्म १ लाख ४४ हजार ४ सय ९८ टन मल बिक्री भएको छ ।
चालु आर्थिक वर्षका लागि जम्मा ६ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकामा हालसम्म ४ लाख ७१ हजार ३ सय मेट्रिक टन बराबरको बोलपत्र आह्वान भएको छ । रासायनिक मल आयातका लागि सरकारले २८ अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ ।








Comments are closed.