काठमाडौं। मुलुकको पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डमा एक महिनाभन्दा बढी समयदेखि सबै काम ठप्प रहेको छ । असोज ७ गतेदेखि बोर्डका ३८ कर्मचारी आन्दोलनमा छन्, जसका कारण हकप्रद सेयर, आईपीओ आवेदन, बोनस सेयर दर्ता लगायतका काम ठप्प छन् ।
नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाका अनुसार, कर्मचारीको माग नबुझिञ्जेल काम ठप्प रहनेछ। बोर्डका दुई संगठन – कर्मचारी युनियन र स्वतन्त्र कर्मचारी संगठन – संयुक्त रुपमा आन्दोलनरत छन् ।
सरकारले गरेको निर्णय कार्यान्वयन गर्नु बोर्डको कर्तव्य भए पनि कर्मचारीले अन्याय भएको ठानेर कानुनी बाटो अपनाउने अधिकार राख्ने उच्च अधिकारीको भनाइ छ ।
कर्मचारीको विरोधको कारण असोज २ गते अर्थ मन्त्रालयले बोर्डसँग सम्बन्धित तीन निर्णय गर्नु हो। पहिलो, कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष खारेज गर्ने । दोस्रो, यी कोषबाट विगतमा भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट असुल गर्नुपर्ने । तेस्रो, कुनै पनि आर्थिक दायित्व लिनु अघि अर्थ मन्त्रालयको अनिवार्य सहमति आवश्यक ।
बोर्डका कर्मचारीले भन्छन्, “स्वायत्त निकायको मान्यता भएकाले निर्णयमा मन्त्रालयको हस्तक्षेप अस्वीकार्य छ । यसविरुद्ध हाम्रो आन्दोलन हो ।”








Comments are closed.