काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ओरालो लाग्दै ५.१५ अंकले घटेर २,५४० बिन्दुमा बन्द भएको छ । बजार सूचक घटेपनि कारोबार सामान्य रह्यो। आज ७४ कम्पनीको शेयर मूल्य बढ्दा १६८ कम्पनीको मूल्य घटेको छ, जसले बजारमा बेचबिखन दबाब रहेको संकेत गर्दछ ।
दिनभरिमा ३३७ कम्पनीका ७९ लाख ५७ हजार ५६ कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै कारोबार एसबिएल डिबेञ्चर २०८९ मा देखियो, जसको कारोबार २८ करोड ९० लाख रुपैयाँ भयो । त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीले २१ करोड ३५ लाख रुपैयाँ र माउन्टेन इनर्जीले २० करोड ८४ लाख रुपैयाँको कारोबार गर्दै कारोबार सूचिको दोस्रो र तेस्रो स्थान ओगटेका छन् ।
उता, मूल्य वृद्धिको हिसाबले सागर डिष्टिलरी, बुङगल हाइड्रो र बन्दीपुर केलकार शीर्ष स्थानमा रहे, जसका लगानीकर्ताले ९.९९ प्रतिशतको दरले कमाएका छन् । नविल डिबेञ्चरका इकाईधनीले पनि ९.९१ प्रतिशतको बृद्धिबाट राम्रो आम्दानी गरेका छन् । तर, बजारमा सबैभन्दा ठूलो घाटा भुगोल इनर्जीका लगानीकर्ताले व्यहोरे, जसको शेयर मूल्य आज १० प्रतिशतले घट्यो। समग्रमा, नेप्से सूचकमा गिरावट आए पनि कारोबार रकम उच्च देखिनु बजारमा सक्रियता यथावत् रहेको संकेत मानिएको छ ।








Comments are closed.