भारतसँगको विद्युत् खरिद सम्झौताबाट १ अर्ब २० करोड मुनाफा भएको मन्त्री घिसिङको दाबी

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले भारतको पावर ट्रेडिङ कम्पनी (PTC) सँग गरिएको विद्युत् खरिद सम्झौताबाट सरकारले करिब १ अर्ब २० करोड रुपैयाँ बराबरको मुनाफा गरेको दाबी गरेका छन् ।

सोमबार राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री घिसिङले सो जानकारी दिए ।

सम्झौतामा आर्थिक अनियमितता र ४३ करोड रुपैयाँ बराबरको क्षति गराएको आरोप ‘आधारहीन’ भएको मन्त्री घिसिङले स्पष्ट पारे। उनका अनुसार पिटिसीको प्रतियुनिट ८ रुपैयाँ १० पैसाको दरमा विद्युत् किन्नुपर्ने बाध्यात्मक अवस्थालाई विचार गर्दा अहिले ६ रुपैयाँ ९५ पैसामा खरिद गरिएको विद्युत्ले नै करिब १ अर्ब २० करोड रुपैयाँ बचत भएको हो ।

उनले भने, “यो सम्झौता नगरेको भए पिटिसीले तोकेको ८ रुपैयाँ १० पैसामा किन्नैपर्थ्यो । अहिले १ रुपैयाँ १५ पैसाले सस्तो परेको छ, जसले करिब १ अर्ब २० करोड बचत देखाउँछ। त्यसलाई नोक्सानी भन्न मिल्दैन ।” मन्त्री घिसिङले एमविविएन (MBBN) को ७ रुपैयाँ ७० पैसाको कोटेसनसँग तुलना गर्दा पनि करिब ७५ करोड रुपैयाँ फाइदा भएको दाबी गरे ।

उनका अनुसार नेपालले आवश्यकता अनुसार भारतसँग डे–टु–डे पावर ट्रेडिङ पनि गर्दै आएको छ। डे–अहेड मार्केटमार्फत दैनिक स्वचालित दरमा बिडिङ गरी विद्युत् खरिद गरिने व्यवस्थाले तत्कालीन आवश्यकतामा लोडसेडिङ हुन नदिन मद्दत परेको उनले स्पष्ट पारे ।

You might also like

Comments are closed.