पाटन हेल्थ ल्याबमा नेपाल बैंकका कर्मचारी र ग्राहकलाई छुट दिईने

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारी तथा बैंकमा खाता भएका ग्राहकहरूलाई पाटन हेल्थ ल्याब प्रा.लि. मा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। ललितपुर थसिखेलस्थित पाटन हेल्थ ल्याब र नेपाल बैंकबीच भएको उक्त सहकार्यले बैंकका कर्मचारी तथा ग्राहकलाई गुणवत्तायुक्त स्वास्थ्य सेवा सहुलियत दरमा प्राप्त गर्ने अवसर उपलब्ध गराएको छ।

सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकका ग्राहकहरूले पाटन हेल्थ ल्याबले उपलब्ध गराउने विभिन्न प्याथोलोजी सेवा तथा हेल्थ प्याकेजमा १० देखि ३० प्रतिशतसम्म छुट पाउनेछन्। साथै, ल्याबका नियमित सेवा सुविधासहित निःशुल्क होम डेलिभरी सेवा पनि उपलब्ध गराइने व्यवस्था गरिएको छ, जसले सेवाग्राहीलाई थप सहजता दिने बताइएको छ।

सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र पाटन हेल्थ ल्याब प्रा.लि. की प्रबन्ध निर्देशक सरिता खड्काले हस्ताक्षर गरेका छन्। दुवै संस्थाबीचको यो सहकार्यले बैंकका कर्मचारी तथा ग्राहकलाई समयमै, भरपर्दो र किफायती स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

You might also like

Comments are closed.