काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका साना तथा लघु उद्यम/व्यवसायमा वित्तीय पहुँच विस्तार गर्न सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी र परियोजनाका चिफ अफ पार्टि अरुण रानाले उक्त पत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार, कोशी प्रदेशमा सञ्चालन हुने विभिन्न साना तथा लघु व्यवसायहरूले सहजरूपमा कर्जा पाउनेछन् । यसले लगानीको अभावका कारण व्यवसाय विस्तार गर्न असमर्थ उद्यमीहरूलाई व्यवसाय विस्तार गर्न सहयोग पुर्याउनेछ र रोजगारी सिर्जनामा सकारात्मक योगदान गर्ने विश्वास बैंकले लिएको छ । कर्जा सुविधा डिएआई–उदय परियोजनाले छनौट गरेका उद्यमी तथा व्यवसायहरूले बैंकका सम्पूर्ण कोशी प्रदेश शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।
नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलअन्तर्गत, कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा डिएआई–उदय परियोजना यस क्षेत्रमा नविकरण उर्जा, कृषि प्रशोधन, आईटी, पर्यटन र उत्पादनमूलक उद्योगसम्बन्धी व्यवसायमा कर्जा उपलब्ध गराउँदै आएको छ ।
ग्लोबल आइएमई बैंकले देशभरका ७७ जिल्लामा ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, ‘बेष्ट बैंक नेपाल २०२४–२०२५’ लगायतका सम्मान प्राप्त गरिसकेको छ । बैंकले रेमिट्यान्स सेवामार्फत विश्वभरका नेपाली नागरिकलाई आर्थिक सेवा प्रदान गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्याइरहेको छ ।





Comments are closed.