स्याङ्जाली सम्पर्क सदनले आफ्नो रजत जयन्तीको अवसरमा ‘स्याङ्जाली सांस्कृतिक साँझ’ आयोजना गर्ने भएको छ । संस्था गठन भएको २५ वर्ष पुगेको अवसरमा यहि मंसीर ५ गते पोखरा सभागृहमा सांस्कृतिक साँझ गर्न लागेको हो । यहि पुष १२ गते रजत जयन्ती विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको सदनले त्यसअघी सांस्कृतिक साँझ गर्न लागेको सदनका अध्यक्ष लिलाप्रसाद पंगेनीले जानकारी दिए । सांस्कृतिक साँझ दिउँसो २ः३० बजेबाट शुरु भएर राती ८ बजेसम्मै जारी रहने उनले बताए ।
सांस्कृतिक साँझमा राष्ट्रिय कलाकारहरु पुरुषोत्तम न्यौपाने, रमेश बिजी, शर्मिला गुरुङ, पशुपति शर्मा, रामजी खाँड, खुमन अधिकारी, एकनारायण भण्डारी, शंकर बिरही गुरुङ, राजन लम्साल, राजन कार्की, चेतन गोतामेसहित करीब ३ दर्जन कलाकारले प्रस्तुती दिने कलाकार संयोजक पुरुषोत्तम न्यौपानेले जानकारी दिए । उनले भने,‘कार्यक्रममा हामी पुरानो पुस्तादेखि चलेका राष्ट्रिय कलाकारसहित नव प्रतिभा सबैलाई स्टेजमा उतार्दैछौं ।’
सदनले रजत जयन्तीको अवसरमा स्याङ्जामा जन्मथलो भई देश विदेशमा ख्याती कमाएका कलाकारहरुलाई सम्मान गर्ने जनाएको छ । सो अवसरमा स्याङ्जाको मौलिक पहिचान झल्किने संस्कृति, संस्कार र रितिरिवाजलाई प्रदर्शन गरिने सदनका महासचिव धर्मराज अर्यालले बताए ।
सांस्कृतिक साँझ र रजत जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रमबाट ३० लाख संकलन गरी ५ लाख बचत गर्ने लक्ष्य लिइएको सदनले जनाएको छ । बचत रकम सदनको कोषमा थप गरी सामाजिक कार्यमा खर्च गरिने सदनका अध्यक्ष लिलाप्रसाद पंगेनीले बताए ।
Comments are closed.