खातामा प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एन आई सी एशिया बैंकको अनुरोध

काठमाडौं । एन आई सी एशिया बैंक ले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (PAN) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै ग्राहकहरूको खाताबाट काटिएको करको विवरण आन्तरिक राजस्व विभाग को स्थायी लेखा नम्बर प्रणालीमा समावेश गर्न आवश्यक भएकाले प्यान अद्यावधिक गर्न आग्रह गरेको हो। उक्त व्यवस्था आयकर ऐन २०५८ अनुसार लागू गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार ग्राहकहरूले बैंकको आधिकारिक पोर्टल वा मोबाइल बैंकिङ एपमार्फत ‘PAN Update’ विकल्पमा गएर आफ्नो प्यान विवरण अद्यावधिक गर्न सक्नेछन् । साथै ग्राहकले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयमा पुगेर पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

बैंकले निक्षेपकर्तालाई प्रदान गरिने ब्याजमा काटिएको करलाई ई–टीडीएस प्रणालीमा प्रविष्ट गर्न प्यान अनिवार्य रहेको जनाएको छ। प्यान अद्यावधिक भएपछि ब्याजकरसम्बन्धी विवरण स्वतः आयकर प्रणालीमा प्रविष्ट हुने र अनुसूची–१० मा करकट्टी विवरण मिलान हुने बताइएको छ। यसबाट ग्राहकलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकले जनाएको छ ।

बैंकले ग्राहकलाई आफ्नो खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ। ग्राहकहरूले भिडियो केवाईसी वा मोबाइल बैंकिङ एपमार्फत ‘My Profile’ मा गई ‘Change Email Option’ प्रयोग गरेर इमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन् । यसका लागि पनि बैंकको नजिकैको शाखा कार्यालयबाट सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

यसअघि प्यान उपलब्ध गराइसकेका तर करकट्टी विवरण समावेश नभएको वा इमेल ठेगाना अद्यावधिक नभएको अवस्थामा ग्राहकले बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावल ले ग्राहकलाई आवश्यक विवरण यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेका छन् ।

You might also like

Comments are closed.