बुटवल । राष्ट्रियस्तरको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा महत्वपूर्ण सफलता प्राप्त गरेको छ । भारतको नयाँ दिल्लीमा सम्पन्न ‘चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स-२०२६’ मा शाइन रेसुङ्गाले विकास बैंकहरूतर्फ ‘बेस्ट डेभलपमेन्ट बैंक’ सहित कुल तीन विधामा अवार्ड जित्न सफल भएको छ ।
रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको बैंकले विकास बैंकतर्फको सर्वोत्कृष्ट उपाधिसँगै ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ (नाफा आर्जनमा उत्कृष्ट) र ‘बेस्ट पर्फर्मेन्स अन ग्रोथ’ (व्यवसाय वृद्धिमा उत्कृष्ट) विधामा समेत अन्तर्राष्ट्रिय पुरस्कार हात पारेको छ ।

इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले आयोजना गरेको यस प्रतिस्पर्धामा बिम्स्टेक राष्ट्रहरू-नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका वित्तीय संस्थाहरू सहभागी थिए । सहभागी बैंकहरूको वित्तीय अनुशासन, नाफा आर्जन क्षमता, दिगो वृद्धि र संस्थागत सुशासनको सुक्ष्म अध्ययन गरी विजेता घोषणा गरिएको थियो ।
एउटै अन्तर्राष्ट्रिय मञ्चबाट एकैपटक तीन वटा विधामा उत्कृष्टता हासिल गर्नुले शाइन रेसुङ्गाको वित्तीय स्वास्थ्य, कुशल व्यवस्थापन र दायित्व वहन क्षमतालाई प्रमाणित गरेको छ । क्षेत्रीय स्तरबाट उदाएर राष्ट्रिय पहिचान बनाएको यस विकास बैंकको उपलब्धिले सिंगो नेपाली वित्तीय क्षेत्रकै सुशासन र अनुशासनलाई अन्तर्राष्ट्रिय जगतमा स्थापित गराएको छ ।



Comments are closed.