विपत्ति र लाञ्छना चिर्दै ब्राण्ड जोगाउने संघर्ष : सुष्मा महराको उद्यमी यात्रा

विगतका अनुभव र तीता-मीठा सम्झनाहरू हरेक व्यक्तिको जीवनमा हुन्छन् । तर, सफलताको सिँढी चढ्न विगतलाई बिर्सिएर पनि हुँदैन र विगतकै दुखमा टोलाएर बस्न पनि सकिँदैन । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंकी संस्थापक कोषाध्यक्ष, वर्तमान सल्लाहकार तथा चर्चित ‘फेसियल हाउस’की सञ्चालिका सुष्मा महराको व्यावसायिक जीवन यात्रा यस्तै अदम्य साहस र निरन्तर मेहनतको कथा हो । नेपाल उद्योग वाणिज्य संघद्वारा आयोजित योजना तर्जुमा कार्यशालामा उनले आफ्ना व्यावसायिक अनुभव र संघर्षका प्रेरणादायी विचारहरू व्यक्त गरेकी छन् ।

सामाजिक लाञ्छना र ज्यान जोखिमको मोड

एक महिला र त्यसमा पनि एकल (विधवा) बुहारीका रूपमा व्यावसायिक यात्रा सुरु गर्दा सुष्माले समाज र राज्यका विभिन्न निकायबाट धेरै सास्ती भोग्नुप¥यो । पुरुष र महिला भएर काममा निस्कँदा समाजले हेर्ने दृष्टिकोणमा ठूलो अन्तर थियो । तर, उनले ती लाञ्छनाहरूलाई चिर्दै अगाडि बढ्ने हिम्मत हारिनन् । काठमाडौं महल परिसरबाट व्यवसाय सुरु गरेकी उनले त्यहाँको व्यावसायिक अध्यक्ष भएर काम गर्दा ठूलो चुनौती सामना गर्नुप¥यो । भवनभित्र भएका अनियमितताविरुद्ध आवाज उठाउँदा उनीमाथि रडले ज्यानले मार्ने प्रयाससम्म भयो । श्रीमान्को सहयोग र आफ्नै बलियो मनोबलका कारण उनी बचिन् । लामो समय अस्पताल भर्ना हुनु परे पनि सत्यको पक्षमा आवाज उठाउन उनले कहिल्यै छोडिनन्।

दृष्टिकोणमा परिवर्तन र ‘फेसियल हाउस’को ब्राण्ड

व्यापार सुरु गर्दा समाजमा सौन्दर्यकर्मी (ब्युटिसियन) शब्दलाई फरक हेराइले हेरिन्थ्यो । ‘ब्युटिसियन नलेख, लगानीकर्ता वा प्रबन्ध निर्देशक लेख’ भन्ने दबाबका बीच उनले आफ्नो पहिचान कायम राखिन् । आज २८ वर्षको व्यापारिक अनुभव र १८ वर्षको ‘फेसियल हाउस’को यात्रापछि समाजको त्यो सोच परिवर्तन भएको छ । हिजो सुझाव दिनेहरू नै आज आफूलाई सौन्दर्यकर्मी सुष्मा महराको आफन्त भनेर चिनाउन पाउँदा गर्व गर्छन् ।

आज फेसियल हाउस काठमाडौंसहित देशका मुख्य–मुख्य शहरहरूमा शाखाहरू विस्तार गर्न सफल भएको छ । व्यापार सानो वा ठूलो हुँदैन, दिनरातको मेहनत आवश्यक हुन्छ । चाडपर्व र बिदाको दिनमा घरमा सुत्न मात्र जाने गरी काममा खटिएकाले नै यो सफलता सम्भव भएको उनको अनुभव छ ।

ब्राण्ड जोगाउने चुनौती र सामाजिक सञ्जालको भूमिका

व्यवसायमा लगानी गरेपछि सुरुमा ‘कसरी चलाउने ?’ भन्ने पीर हुन्छ भने व्यवसाय चलेर एउटा उचाइमा पुगेपछि ‘ब्राण्ड कसरी जोगाउने ?’ भन्ने अर्को ठूलो चुनौती थपिन्छ । ब्राण्ड बनाउन जति गाह्रो छ, त्यसलाई जोगाउन झन् धेरै मेहनत चाहिन्छ ।

अहिलेको डिजिटल युगमा सामाजिक सञ्जाल व्यापार बढाउने बलियो माध्यम बनेको छ भने अर्कातिर एकै छिनमा ब्राण्ड डुबाउने खतरा पनि यसैमा छ । हालैको एक घटना स्मरण गर्दै उनले भनिन्, एक ग्राहकले सेवा लिएपछि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गरेकी थिइन् । सीसीटीभी फुटेज जाँच गर्दा राम्रो सेवा दिएको पुष्टि भएपछि र कानुनी उपचारको कुरा उठेपछि ती ग्राहकले गल्ती स्वीकारेर पोष्ट हटाइन् । त्यसैले, सामाजिक सञ्जालको सही सदुपयोग गरेर व्यापार बढाउनुपर्छ तर यसले ल्याउने अफवाहबाट ब्राण्ड जोगाउन सतर्क रहनुपर्छ ।

राज्यको नीति र निरन्तरता

कोभिड–१९, नाकाबन्दी र वर्तमान आर्थिक मन्दीको मार सौन्दर्य क्षेत्रमा पनि प्रत्यक्ष परेको छ । व्यापारमा खर्च धेरै हुने र जोगाउन गाह्रो हुने अवस्थामा पनि निरन्तरता दिनु नै उद्यमीको मुख्य कर्तव्य हो ।

सरकारले अहिले अनलाइन व्यापारलाई दर्ता अनिवार्य गरेको कदम सकारात्मक छ । घरभित्रै बसेर पनि व्यापार गर्न सकिने वातावरण बनेको छ, तर सबै व्यापार राज्यका निकायहरूमा दर्ता भएर कानुनसम्मत हुनुपर्छ ।

व्यापारमा सफलतासँगै ईष्र्या गर्नेहरू पनि सक्रिय हुन्छन् । तर, सत्यको पक्षमा उभिएर इमानदार मेहनतका साथ अघि बढेमा जस्तोसुकै आर्थिक मन्दी र चुनौतीलाई पनि मात दिन सकिन्छ भन्ने सुष्मा महराको व्यावसायिक यात्राले स्पष्ट पार्छ ।

हामी सत्य छौं भने कहिल्यै डगमगाउनु हुँदैन । मलाई मेरो परिवारको जस्तो साथ मिल्यो त्यसले नैै व्यवसायमा सफलता प्राप्त भएर यो ठाउँमा उभिएको छु ।

फेसियल हाउसको प्रवन्ध निर्देशक भनेर परिचय दिन पाउँदा गौरवको अनुभूति हुन्छ ।

You might also like

Comments are closed.