सम्पदा संरक्षणमा विद्यार्थीको सहभागिता

काठमाडौं । नुवाकोट । आफ्नो ठाउँ, आफ्नो इतिहास र आफ्नो सम्पदाप्रतिको जिम्मेवारी नयाँ पुस्तामा विकास गराउने उद्देश्यले Trishuli Samudayik Boarding School & National Bethel Academy को संयुक्त आयोजनामा नुवाकोटको ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ तथा सम्पदा संरक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विद्यार्थीले मन्दिर परिसरको सरसफाइ गर्नुका साथै आफ्नो वरपर रहेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको महत्वबारे नजिकबाट बुझ्ने अवसर पाएका थिए । विद्यालयमा किताबका पानामा पढ्दै आएको सम्पदा संरक्षणको विषयलाई व्यवहारमै अनुभव गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

कार्यक्रममा विद्यार्थीलाई सरसफाइमा सहभागी गराउनुका साथै आफ्नो ठाउँमा रहेका सम्पदालाई चिन्ने, त्यसको इतिहास र महत्व बुझ्ने, सम्मान गर्ने तथा संरक्षणका लागि आफूले पनि जिम्मेवारी लिन सक्ने विषयमा सचेत गराइएको थियो। सानै उमेरदेखि आफ्नो सम्पदा र संस्कृतिप्रति अपनत्वको भावना विकास गर्न सके भविष्यमा जिम्मेवार पुस्ता निर्माणमा सहयोग पुग्ने विश्वास आयोजक विद्यालयको छ।

विद्यार्थीको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझ जीवन्त र अर्थपूर्ण बनाएको थियो। आफ्नै हातले मन्दिर परिसर सफा गर्दै, सम्पदाको महत्व बुझ्दै र संरक्षणको सन्देश फैलाउँदै विद्यार्थीले “हाम्रो सम्पदा, हाम्रो जिम्मेवारी” भन्ने भावनालाई व्यवहारमै उतारेका थिए।

सम्पदा संरक्षण केवल सरकारी निकाय वा कुनै निश्चित संस्थाको जिम्मेवारी मात्र होइन। यो समुदाय, विद्यालय, युवा तथा नयाँ पुस्ताको साझा दायित्व पनि हो। यस्ता व्यवहारिक कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता, सामूहिक भावना र आफ्नो इतिहासप्रतिको अपनत्व विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।

Trishuli Samudayik Boarding School & National Bethel Academy को यस पहलले विद्यार्थीलाई पढाइसँगै समाज, संस्कृति र सम्पदासँग जोड्ने सकारात्मक सन्देश दिएको छ। विद्यालय तहबाटै सुरु हुने यस्ता साना प्रयासले भोलिका दिनमा आफ्नो इतिहास र सम्पदाप्रति जिम्मेवार, सचेत र संवेदनशील पुस्ता निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गर्न सकिन्छ।

You might also like

Comments are closed.