हिमाली उपत्यकामा हिमनदी फुटेर विनाशकारी बाढी : FIABCI द्वारा अन्तर्राष्ट्रिय समवेदना, मास्टर हुइगुआङ र बोधिसत्व मन्दिरद्वारा राहत अभियान सुरु

काठमाडौँ ।  नेपाल-तिब्बत सीमा नजिकै अवस्थित रसुवा जिल्लाका विभिन्न हिमाली गाउँहरूमा हिमनदी फुटेर अचानक आएको भीषण बाढी र पहिरोले ठूलो विनाश निम्त्याएको छ। हिमालय पर्वत शृङ्खलाबाट तीव्र वेगमा उर्लिएर आएको विनाशकारी बाढीले हिमाली उपत्यकाहरूलाई तहसनहस बनाउँदै ठूलो जनधनको क्षति पुर्याएको छ भने सयौँ आवासीय घरहरू पूर्ण रूपमा बगाएर नष्ट पारेको छ।

यस अचानक आएको प्राकृतिक विपद्का कारण हिमाली क्षेत्रको जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ। बाढीबाट प्रभावित सयौँ परिवारहरू खुल्ला आकाशमुनि अस्थायी पालको भरमा रात बिताउन बाध्य भएका छन्। क्षेत्रमा खाद्यान्न, सुरक्षित पिउने पानी र ओढ्ने-अछ्याउने कपडाको चरम अभाव सिर्जना भएको छ।

विपद्को प्रभाव सर्वसाधारणको धनमाल र बसोबास सीमित रहेन । बाढीका कारण विस्थापित भएका धेरै नागरिकहरूले आफ्ना नियमित प्रयोग गर्ने दैनिक औषधिहरूसमेत गुमाएका छन्। विशेष गरी उच्च रक्तचाप, मधुमेह र अन्य दीर्घकालीन रोगका बिरामीहरू औषधि अभावका कारण थप स्वास्थ्य जोखिममा परेका छन्।

यस विपद्को सबैभन्दा गम्भीर र हृदयविदारक असर बालबालिकाहरूमा परेको छ। पछिल्लो स्थलगत विवरण अनुसार बाढी र पहिरोका कारण १० हजारभन्दा बढी बालबालिकाहरू प्रभावित भई अनाथ वा अभिभावकविहीन हुने जोखिममा पुगेका छन्। आफ्ना अभिभावक र घरबार गुमाएका यी बालबालिकाहरू विद्यालय जानबाट वञ्चित हुनुका साथै उचित हेरचाह र संरक्षणको ठूलो संकटसँग जुधिरहेका छन्।

विपद्को गम्भीरतालाई ध्यानमा राख्दै नेपाल बोधिसत्व मन्दिर तथा नोभिस एकेडेमीका संस्थापक मास्टर हुइगुआङ तत्काल नेपाल फर्किएर उद्धार र राहत अभियानमा सक्रिय हुनुभएको छ। काठमाडौँस्थित बोधिसत्व मन्दिर तथा नोभिस एकेडेमीका सम्पूर्ण भिक्षुहरू सुरक्षित रहेको जानकारी दिँदै मन्दिर व्यवस्थापनले अगस्ट २७ देखि दुईवटा मुख्य राहत कार्यक्रम सञ्चालनमा ल्याएको छ।

बोधिसत्व मन्दिरद्वारा घोषित राहत प्याकेज अनुसार प्रत्येक बाढी प्रभावित घरपरिवारलाई शरणार्थी सहायता स्वरूप NT$ २००० (दुई हजार न्यु ताइवान डलर) र खाद्य राहत स्वरूप NT$ १२२०० (एक हजार दुई सय न्यु ताइवान डलर) गरी कुल NT$ ३२०० बराबरको सहयोग उपलब्ध गराइनेछ। राहत कोष सङ्कलन अभियान अगस्ट २७ देखि ३१ सम्म खुला रहने र सो अभियानमा दिइएको दानको आधिकारिक रसिद प्राप्त गरी आयकर छुटमा समेत प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ।

राहत सामग्री तथा सहयोग रकम निष्पक्ष र व्यवस्थित तरिकाले वास्तविक पीडितसम्म पुर्याउन मन्दिरकी स्वयंसेवक प्रतिनिधि डा. पियाको नेतृत्वमा एक टोली खटिएको छ। उक्त टोलीले स्थानीय प्रशासनिक निकाय, गाउँपालिका तथा नेपाली सेनासँगको प्रत्यक्ष सहकार्यमा प्रभावित क्षेत्रमा पुगेर राहत वितरण कार्यलाई तीव्रता दिएको छ।

मास्टर हुइगुआङ र बोधिसत्व मन्दिरले शिक्षा र मानव सेवाबाहेक लामो समयदेखि नेपालका दुर्गम पहाडी भूभागमा निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्। संस्थाले असहाय जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा विपन्न बालबालिकालाई सहायता प्रदान गर्दै आएको छ। मन्दिरद्वारा दान गरिएका अत्याधुनिक अल्ट्रासाउन्ड र एक्स-रे मेसिनसहितका दुईवटा एम्बुलेन्सहरू स्वयंसेवक डा. दिलको नेतृत्वमा रहेको नेपाली मेडिकल टोलीले दुर्गम गाउँहरूमा बिरामीहरूको उद्धार तथा उपचारका लागि निरन्तर प्रयोग गरिरहेको छ।

नेपालमा कोभिड-१९ महामारी तथा बाढी विपद्का बेला पुर्याएको आपतकालीन स्वास्थ्य तथा मानवीय सहायताको कदर गर्दै सन् २०२१ नोभेम्बर २१ मा संयुक्त राष्ट्र शान्ति सेना संघीय परिषद्ले बोधिसत्व मन्दिरलाई प्रतिष्ठित ‘ह्युमानिटेरियन अवार्ड’ (Humanitarian Award) द्वारा सम्मानित गरिसकेको छ। बाढी पीडितको पुनर्स्थापनाका लागि सरकारी तथा गैरसरकारी संस्थाहरूको संयुक्त पहल जारी छ।

यसैबीच पेरिसस्थित अन्तर्राष्ट्रिय रियल स्टेट फेडेरेसन (FIABCI) ले नेपालमा आएको विनासकारी बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना र ऐक्यबद्धता सन्देश पठाएको छ। FIABCI का महासचिव नाारेक अराकेल्यान र विश्व अध्यक्ष लिली च्याङले नेपालका प्रतिष्ठित उद्योगी एवं बृहत् ग्रुपका कार्यकारी अध्यक्ष ओम राजभण्डारीलाई प्रेषित गरेको आधिकारिक पत्रमा बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ। पत्रमा बेपत्ता नागरिकहरूको शीघ्र खोजी, घाइतेहरूको द्रुत उपचार र पुनर्निर्माणको प्रक्रियामा FIABCI को पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

You might also like

Comments are closed.