चितवन । सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः चलायमान बनाउने, स्वदेशी लगानी आकर्षित गर्ने र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने लक्ष्यसहित चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो २०२६’ आयोजना हुने भएको छ । नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा मंसिर २५ गतेदेखि २७ गतेसम्म भरतपुरस्थित चितवन उद्योग संघको एक्स्पो सेन्टरमा एक्स्पो सञ्चालन हुन लागेको हो ।
घरजग्गा कारोबारमा आएको मन्दी, लगानीको अभाव र युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेका बेला स्वदेशमै लगानी तथा उद्यमशीलताको वातावरण निर्माण गर्नु एक्स्पोको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ । एक्स्पोमा आधुनिक घर तथा आवास निर्माण सामग्री, प्रविधि, घरजग्गा तथा आवास परियोजना, निर्माण कम्पनीका सेवा र विभिन्न निर्माणसम्बन्धी उत्पादन तथा सेवाहरू प्रदर्शन गरिने छ । घर निर्माण गर्दा अपनाउनु पर्ने सरकारी मापदण्ड, भवन संहिता, गुणस्तर र सुरक्षासम्बन्धी विषयमा समेत जानकारी प्रदान गरिने आयोजकले जनाएको छ ।
घर निर्माण गर्न चाहने उपभोक्ता, घरजग्गा व्यवसायी, निर्माण कम्पनी, इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री उत्पादक तथा विक्रेतालाई एउटै थलोमा जोड्ने एक्स्पोको लक्ष्य छ । घर निर्माणका क्रममा देखिने लागत वृद्धि, समयको बर्बादी र गुणस्तरसम्बन्धी समस्याबारे उपभोक्तालाई सही जानकारी तथा प्राविधिक परामर्श उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
एक्स्पो अवधिमा सरकारी निकायका प्रतिनिधि, निजी क्षेत्रका व्यवसायी, विषयविज्ञ, इन्जिनियर तथा उपभोक्ताबीच अन्तरक्रिया, परामर्श, अभिमुखीकरण र छलफलका कार्यक्रमसमेत सञ्चालन हुने छन् । घरजग्गा खरिदकर्ता र विक्रेताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्दै नयाँ व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसर पनि उपलब्ध गराइने छ । एक्स्पोले चितवनसहित देशका सम्भावनायुक्त जिल्लाहरूमा लगानी आकर्षित गर्दै आर्थिक गतिविधि बढाउन योगदान पुर्याउने छ ।
३ एक्स्पोमा घरजग्गा व्यवसायी, निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक तथा विक्रेतासहित विभिन्न क्षेत्रका ६० वटा भन्दा बढी प्रदर्शनी स्टल रहने छन् । आयोजकले करिब २५ हजार अवलोकनकर्ताले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरेको छ ।






Comments are closed.