भरतपुर । नेपाल सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले चितवन उद्योग संघ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको स्थलगत अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण कार्य समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
मन्त्री लम्सालले प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भएमा थप बजेटको व्यवस्था गरेर भए पनि निर्माण कार्यलाई पूर्णता दिनुपर्नेमा जोड दिए । भौतिक पूर्वाधार निर्माणमा बजेटको अभाव हुन नदिने स्पष्ट पार्दै उनले कामलाई तीव्रताका साथ अघि बढाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिएका हुन् ।
चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धनमा महत्वपूर्ण मानिएको यस प्रदर्शनी केन्द्रको निर्माण सम्पन्न भएसँगै जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ । मन्त्री लम्सालको स्थलगत अनुगमन र बजेट थप गर्ने प्रतिबद्धतापछि अधुरा रहेका भौतिक संरचनाहरूको निर्माण कार्यले गति लिने विश्वास लिइएको छ ।




Comments are closed.