पालिका प्रमुखलाई व्यक्तिगत स्वार्थ र महत्वकांक्षामा नरुमल्लिन आग्रह

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले स्थानिय तहका प्रमुख तथा उपप्रमुखलाई व्यक्तिगत स्वार्थ र महत्वकांक्षा भन्दा माथि उठेर देश र जनताका लागि काम गर्न आग्रह गरेका छन् । जिल्ला समन्वय समिति कास्कीको चौथो जिल्ला सभालाई सोमबार सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले भने,‘अहिले व्यक्तिगत स्वार्थ र महत्वकांक्षामा नरुमल्लिनुस् । अहिले जनताको लागि गर्नुस्, भोलि तपाईंलाई खोज्दै आउँछन् ।’

प्रमुख शेरचनले संघीयताको मूल मर्म अनुसार जनताको मुहार फेर्ने जिम्मेवारीपनि स्थानिय तहकै भएको बताए । जनतासँग सँधै जोडिने भनेको स्थानिय तह हो,‘उनीहरुको समस्यादेखि समाधानपनि स्थानिय तहलाई नै थाहा हुन्छ । त्यसैले उनीहरुको मुहार फेर्न स्थानिय तहकै भूमिका महत्वपूर्ण हुन्छ ।’

प्रदेश प्रमुख शेरचनले संघीय प्रणालीको मूल आधार भनेपनि मेरुदण्ड भनेपनि स्थानिय तह भएको बताए । त्यसैले देशको विकास र समृद्धिका लागि स्थानिय तहले भूमिका खेल्नुपर्ने उनको भनाई छ । साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्नका लागि २ कुरा अनिवार्य पालना गर्नुपर्ने भन्दै उनले भने,‘पहिलो भनेको भ्रष्टाचार र कमिसन तन्त्रको अन्त्य गर्नुपर्छ, अनि दोश्रो भनेको राष्ट्रिय उद्योगको स्थापना ।’ राष्ट्रिय उद्योग नाम मात्रको नभई स्वदेशी कच्चा पदार्थको उपयोग गर्ने खालको हुनुपर्नेमा उनको जोड थियो ।

प्रदेश प्रमुख शेरचनले देशलाई अप्ठेरोमा पार्ने प्रयास अन्र्तराष्ट्रिय समुदायबाट भइरहेको बताए । तर उनले कुन देश वा समुदायबाट त्यस्तो प्रयास भइरहेको हो भन्नेबारेमा खुलाएनन् । उनले भने,‘राष्ट्रियता बडो अप्ठेरो अवस्थामा छ, राष्ट्रलाई खुम्च्याउने र स्वाभिमानलाई गिराउने प्रपञ्च भइरहेको छ, त्यसैले तपार्ईं युवाहरु चनाखो हुनुस र बलिदानका लागि तयार हुनुस् ।’

jutta mela

प्रतिनिधि सभाका सदस्य विद्या भट्टराई अधिकारीले विकास र समृद्धिको सपना पूरा गर्नका लागि संघ, प्रदेश र स्थानिय तहबीच सहकार्य, समन्वय र सौहार्दता आवश्यक रहेकोमा जोड दिईन् ।

पालिकाहरुको तर्फबाट बोल्दै माछापुच्छ«े गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङले कोभिडका बाबजुदपनि स्थानिय तहले उल्लेख्य कार्य गरिरहेको बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जनतासँग सामिप्यता हुँदै जनताको मन जित्ने गरि काम गर्न स्थानिय तहहरुलाई सुझाव दिए ।

पूर्व जिल्ला उपसभापति श्रीनाथ बरालले प्रदेशको राजधानी पोखरामा बसपार्कको अभाव खड्किएको बताउँदै चाँडो भन्दा चाँडो महानगर र प्रदेश स्तरिय छुट्टाछुट्टै बसपार्क बनाउन सुझाव दिए ।

विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)को जोखिमका बीच सामाजिक दुरी कायम गरेर कार्यक्रम गरिएको थियो । जिल्ला सभाको उद्घाटन शत्रमा कास्की जिल्लामा पर्ने पोखरा महानगरपालिका र ४ वटा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतहरुले हालसम्मको कार्य प्रगति विवरण पेश गरेका थिए ।

You might also like

Comments are closed.