तुइन विस्थापन गर्दै प्रदेश सरकार

मकवानपुर ।  बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले प्रदेशका विभिन्न जिल्लामा बाँकी रहेका पुराना तुइन विस्थापन गरी यसै आर्थिक वर्षभित्र झोलुङ्गे पुल निर्माण गरिने बताएका छन् ।

सोका लागि मन्त्रालयले प्राविधिक टोली जिल्ला÷जिल्लामा खटाइसकेको र प्रतिवेदन आउन बाँकी रहेको मन्त्री फुँयालले बताए । रासससँग कुरा गर्दै काठमाडौँ उपत्यका बाहेक १० जिल्लाका १६ गाउँपालिकामा रहेका खरको छानालाई पनि मुक्त गरी जस्तापाताको छानो निर्माणको दृढता पनि उनले व्यक्त गरे।

प्रदेशका आठ जिल्लामा परम्परागत २४ राजकुलोको मर्मत गरी सञ्चालनमा ल्याउन सम्बन्धित प्राविधिकले निर्माण कार्य शुरु गरिसकेको पनि उनले जानकारी दिए । मन्त्री फुयाँलले यसै आर्थिक वर्षभित्र १३ जिल्लाका विभिन्न दुर्गम भेगका जनतालाई सुविधा उपलब्ध गराउने गरी करीब सय नयाँ पक्की पुलको निर्माणका लागि सम्बन्धित कार्यालयलाई बजेट उपलब्ध गराइसकेको जानकारी दिए ।

उनले भने, “बागमती प्रदेशको स्थायी राजधानी हेटौंडाबाट सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग आगामी ४ वर्षभित्र सङ्घ र प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण कार्य सम्पन्न गरी यातायात सेवा सञ्चालन गर्न बोलपत्र आव्हान गरिएको छ । यसका लागि चाँडै सम्झौता गरिनेछ ।”

You might also like

Comments are closed.