७ करोड ३८ लाख रुपैयाँ लगानीमा असहायको आश्रयस्थल तारकेश्वरमा बन्ने

काठमाडौं । बेसहारा तथा सहयोगापेक्षी सडक मावनको व्यवस्थापनका लागि काठमाडौँको तारकेश्वरस्थित मानवसेवा आश्रमको प्रस्तावित भवन निर्माणस्थलको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ । उक्त क्षेत्रको वस्तुस्थिति बुझ्न पुगेको शाक्य नेतृत्वको टोलीमा काठमाडौँ महानगरपालिका र तारकेश्वर नगरपालिकाका प्रतिनिधिसमेत सहभागी थिए ।

उपत्यकालाई मानवीयताको शहर बनाउने सरकारी योजना मुताबिक बेसहारा सडक मानवको व्यवस्थापनका लागि काठमाडौँ महानगर र तारकेश्वर नगरपालिकाले यहाँ भवन निर्माणको प्रक्रिया अघि बढाएको हो । असहाय व्यक्ति, महिला बालबालिका तथा ज्येष्ठ नागरिकको सहयोगमा अहोरात्र खटिँदै आएकी समाजसेवी शाक्यले उपयुक्त स्थानमा बेसहाराका लागि भवन निर्माण हुन लागेकामा खुशी व्यक्त गरिन् । बेसहारा सडक मानव व्यवस्थापनमा उनले विगतदेखि नै संस्थागत र व्यक्तिगत सहयोग गर्दै आएकी छन् ।

जग्गाको निरीक्षणपछि राज्यमन्त्री मानन्धरले जतिसक्दो चाँडो भवन निर्माण गरेर सेवा अघि बढाउनुपर्नेमा जोड दिए । उनले मन्त्रालयबाट हुने सहयोगमा कुनै कमी नरहने प्रतिबद्धता जनाए । केही अघि काठमाडौँ महानगरपालिका, तारकेश्वर नगरपालिका र मानवसेवा आश्रमको त्रिपक्षीय बैठकले तारेकेश्वर–३ मा रहेको ३४ रोपनी खाली जग्गा बेसहारा व्यक्ति राख्ने भवन निर्माण गर्न जग्गा स्वीकृतिका लागि सरकारसँग अनुरोध गर्ने निर्णय गरिसकेको छ । सरकारको स्वीकृतिपछि यहाँ सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि ‘शहीद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम’ बन्नेछ ।

jutta mela

झण्डै ७ करोड ३८ लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको भवन एक वर्षभित्र निर्माण गरिसक्ने प्रस्तावित योजनामा उल्लेख छ । अहिले उपत्यकालगायत विभिन्न जिल्लामा भाडाको घरमा राखेर असहाय, बेसहारा तथा मनोरोगीको संरक्षण हुँदै आएको छ । काठमाडौँ महानगरपालिका र तारकेश्वर नगरपालिकाको सहयोगमा भवन निर्माण हुने र अन्य आवश्यक सहयोगापेक्षी सडक मानवका उद्धार, रेखदेख, संरक्षण तथा उपचारपछि पुनःस्थापनको काम आश्रमले गर्ने गरी प्रक्रिया अघि बढेको आश्रमका प्रवक्ता सुमन बर्तौलाले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यहाँ भवन निर्माणपछि उपत्यकाको असहाय सडक मानव व्यवस्थापनमा निक्कै सहज हुने बताए । तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले सडक मावनको व्यवस्थापनको अवसर प्राप्त हुनु खुशीको कुरा भएको प्रतिक्रिया दिएका छन् । उक्त आश्रमले विभिन्न कारणबाट घरबारविहीन भई खुला आकाशमुनि कष्टकर रुपमा जीवनयापन गर्न विवश भएका तथा शारीरिक र मानसिक रुपमा कमजोर व्यक्तिलाई संरक्षण दिँदै आएको छ ।

सरकारले विसं २०७८ सालभित्र मुलुकलाई नै सडक मानवरहित देश बनाउने योजना अघि सारेको छ । सोही योजनाअनुसार उपत्यकालाई मानवीयताको शहर बनाउने लक्ष्यसहित तारकेश्वरमा आश्रम स्थापना गर्न लागिएको हो । भवन निर्माणपछि त्यसको सञ्चालन तथा व्यवस्थापन, नीति निर्माणलगायत आवश्यक कार्य गर्न महानगरपालिकाका प्रमुखको संयोजकत्वमा निर्देशक समिति रहनेछ ।

You might also like

Comments are closed.