भारतमा थप ३० हजार ७७३ नयाँ संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप ३० हजार ७७३ जना नयाँ संक्रमित भएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जना संक्रमित भएका हुन् । भारतमा ८४ दिनयता दैनिक संक्रमितको संख्या ५० भन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणको कारण ३०९ जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैसँगै यहाँ कोरोना शुरु भएदेखि हालसम्म यसको संक्रमणको कारण मृत्यु हुने व्यक्तिको कूल संख्या ४ लाख ४४ हजार ८८३ जना पुगेको छ ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या तीन लाख ३२ हजार १५८ रहेको छ । यो संख्या घट्दै गएको देखिएको छ । यो संख्या हाल भारतमा रहेको कूल कोरोना संक्रमितको ०.९९ प्रतिशत हो । एकै समयमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले संक्रमितको संख्या घट्दै गएको हो ।

त्यसैगरी अहिलेसम्म संक्रमणमुक्त भएकाको संख्या तीन करोड २६ लाख ७१ हजार १६७ पुगेको छ । गत शनिबारसम्ममा भारतका ५५ करोड २३ लाख ४० हजार १६८ जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । ती मध्ये १५ लाख ५९ हजार ८९५ जनाको शनिबार एकै दिनमा परीक्षण गरिएको हो ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म ८० करोड ४३ लाख ७२ हजार ३३१ डोज खोप लगाइएको सरकारी तथ्याङ्क रहेको छ ।

You might also like

Comments are closed.

Skip1