११ लाख भन्दा बढीलाई कोरोनाविरुद्धको पूरा डोज खोप

कास्की । गण्डकी प्रदेशका ११ जिल्लामा गरी हालसम्म ११ लाख १२ हजार १ सय ५८ जनाले कोरोनाविरुद्ध खोपको पूरा मात्रा (फूल डोज) लिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पुस ५ गतेसम्मका तथ्याङ्कानुसार १४ लाख ७२ हजार ३ सय ८७ जनाले पहिलो मात्रा र सो सङ्ख्यामा पूरा डोज खोप लिएका छन् ।

सरकारले कोरोनाविरुद्ध लड्नका लागि खोप प्रभावकारी हुने भएपछि प्रदेशका सबै जिल्लामा खोप अभियान सञ्चालन गरिरहेको छ । कास्कीमा कोरोना खोपको पहिलो मात्राभन्दा पूरा डोज लिनेको सङ्ख्या बढी छ । तीन लाख ७४ हजार ५ सय ५४ जनाले पहिलो मात्रा र तीन लाख ८६ हजार ४ सय १४ जनाले पूरा मात्रा खोप लगाएका छन् । तनहुँमा एक लाख सात हजार ९ सय ४३, नवलपरासीमा एक लाख दुई हजार ५८ र स्याङ्जामा एक लाख २४ हजार ५ सय ८६ जनाले पूरा मात्रा खोप लिएको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

यसैगरी गोर्खामा ९८ हजार ९ सय ३१, म्याग्दीमा ५१ हजार ४ सय ७१, लमजुङमा ८७ हजार ८ सय २, पर्वतमा ६० हजार ७ सय ४६, बाग्लुङमा ७४ हजार ५८, मुस्ताङ १३ हजार ५ सय ८७ र मनाङमा चार हजार ६ सय १२ जनाले पूरा मात्रा खोप लिएको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशका कास्की र बागलुङबाहेकका नौ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि पुस गतेसम्म १४ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा खोप अभियान सञ्चालन गरिएको छ । तोकिएका सामुदायिक र संस्थागत विद्यालयमा लगाउन सुरु गरिएको निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए । यस अभियानमा पहिलो मात्र लगाएकालाई आगामी माघ २ देखि १२ गतेसम्म दोस्रो मात्र दिने कार्यक्रम छ ।

मोर्डना खोप अभियानमा लक्षित सङ्ख्या एक लाख ८५ हजार २ सय ९८ रहेकामा एक लाख ९४ हजार ४ सय ५० डोज खोप प्राप्त भएको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म तीन लाख ५४ हजार ८ सय ४० जनाको कोरोना परीक्षण गरिएकामा ८८ हजार २ सय ८३ जनाको सङ्क्रमण पुष्टि भएको थियो । अहिलेसम्म ८६ हजार ७ सय ९ जना निको भएका छन् । सङ्क्रमणबाट एक हजार ४ सय २५ को निधन भएको जनाइएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ४९ छ ।

You might also like

Comments are closed.