फुङ्लिङ । ताप्लेजुङमा बोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम १ सय रुपैयाँले वृद्धि भएको हो ।
फुङ्लिङ बजारमा बोइलरको मासु प्रतिकिलोग्राम अहिले ४ सय ८० रुपैयाँ पु¥याइएको छ । सहज रूपमा बोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य वृद्धि हुँदै गएको स्थानीय व्यवसायी बताउँछन् । जिल्लाभित्र बोइलर कुखुरा पाउन छोडेपछि अहिले इलाम र झापादेखि आयात गरेर मासु बिक्री गर्दै आएको उनीहरुको भनाइ छ ।
फुङ्लिङ बजारका मासु व्यवसायी चन्द्र पौडेलले इलामबाट बोइलर कुखुरा ल्याएर मासु बिक्री गर्दै आएको जानकारी दिए । हाल वृद्धि भएको मूल्यमा पनि उपभोक्ताको मागअनुसार ब्रोइलरको मासु उपलब्ध गराउन नसकेको उनले बताए ।
फुङ्लिङ बजारकै व्यवसायी नरेन्द्र बस्नेतले पनि बोइलर कुखुरा पाउन छोडिएकोले मासुको मूल्य महँगो भएको र । झापादेखि कुखुरा आयात गर्नुपरेको बताए । इलाम र झापामा पनि मागअनुसार कुखुरा पाउनै मुस्किल पर्ने गरेको उनको भनाइ छ ।
व्यवसायी नेत्र न्यौपानेले जिल्लामा ब्रोइलर कुखुरा नपाएपछि मासु बिक्री गर्न छाडेको र अहिले स्थानीय जातका कुखुराको मासु मात्र बिक्री गर्दै आएको उनले बताए । लोकल कुखुराको मासु प्रतिकिलोग्राम ७ सय रुपैयाँले बिक्री गर्ने गरिएको छ ।
अर्का व्यवसायी कुमार शेर्पाले पनि कुखुरा पाउन छोडेपछि मासु बिक्री गर्न छोडेको जानकारी दिए । यसरी फुङ्लिङ बजारका अधिकांश फ्रेस हाउस तथा बोइलर मासु बिक्री केन्द्र हिजोआज बन्द भएका छन् । सीमित फ्रेस हाउस सञ्चालनमा रहे पनि उनीहरुले मासु महँगोमा बिक्री गर्दै आएका छन् । सहजरुपमा बोइलर कुखुरा नपाएकै कारण मासुको मूल्य वृद्धि भएको उनीहरुको भनाइ छ । मूल्य महँगो भए पनि व्यवसायीले उपभोक्ताको मागअनुसार बोइलरको मासु उपलब्ध गराउन सकिरहेका छैनन् ।
Comments are closed.