काठमाडौं । चैत्र नवरात्रका अवसरमा गोकर्णेश्वर नगरपालिका–४ मा रहेको जागेश्वरी भगवती मन्दिर परिसरमा हारती माताले शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन गरेकि छिन् ।
चैत्र शुक्ल प्रतिपदाका दिन चैत १९ गतेदेखि उनले आधुनिक विज्ञानलाई चुनौती दिँदै मन्दिर परिसरमा इँटाले बनाएको शरीर अट्ने भागमा सुतेर त्यसमाथि १ सय ८ अखण्ड दीप प्रज्ज्वलन गरेको जागेश्वरी भगवती मन्दिर सञ्चालन समितिका अध्यक्ष श्याम श्रेष्ठले राससलाई जानकारी दिए । यही चैत १९ गते बिहानदेखि नै माताले शरीरमाथि अखण्ड दीप प्रज्ज्वलन गरेका हुन् । शरीरमा अखण्ड दीप प्रज्ज्वलन गरेदेखि माताले केही खाएको छैन । मुस्किलले अक्सिजन छिर्ने सानो भाग पल्टेर देवीको आराधना भइरहेको मन्दिर सञ्चालन समितिले जनाएको छ ।
तीन वर्षअघि सपनामा गोकर्णेश्वर–४ गोकर्ण देशे गाउँकी नानी देउलालाई हारती माताले दर्शन दिएको थिइन् । सपनामा हारती माताले उनलाई पूजा आराधना गर्नु भनेपछि उनी सोही नामको माताका रुपमा देवीको पूजा आराधनामा लागेको हो । हारती माताले दर्शन दिनुअघि केही समय उनी बिरामी भएको पारिवारिक स्रोतले जनाएको छ ।
माताले आश्विन शुक्ल पक्षको नवरात्रमा ताप्लेजुङको पाथीभरा देवी मन्दिर परिसरमा शरीरमा जमरा उमार्ने घोषणासमेत गरेकि उनकी छोरी विपना देउलाले जानकारी दिइन् । माताले सपनामा दर्शन दिएदेखि बिहान दैनिक उनले पूजा आराधनामा समय बिताउने गरेकि छिन् ।
चैत्र नवरात्रका अवसरमा मन्दिर सञ्चालन समितिले त्यस स्थलमा श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञको समेत आयोजना गरेको छ । महायज्ञमा रामानुजदास सन्तोाषजीले कथावाचन गरिरहेको छन् । महायज्ञ चैत २८ गतेसम्म जारी रहने आयोजक समितिले जनाएको छ ।
नेपाल सरकारले राष्ट्रिय शहीद पार्क तथा निजामती स्मारक निर्माणस्थलका रुपमा घोषणा गरेको गोकर्णेश्वरको यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा रहेको जागेश्वरी मन्दिरमा आयोजित कार्यक्रममा भक्तजनको भीड लाग्ने गरेको छ । सामुदायिक वन समूहका अध्यक्ष सुदर्शन सिग्देल गोकर्णेश्वर उत्तरगया क्षेत्र प्राचीनकालदेखि नै सिद्धस्थलका रुपमा रहेकाले साधकका रुपमा माता अघि आएको बताउँछन् ।
गोकर्णेश्वर महादेव मन्दिर रहेको यो क्षेत्र सिद्धस्थल भएकैले सरकारले शहीद स्मारक घोषणा गर्दा वनको २४ रोपनी क्षेत्रलाई धार्मिक क्षेत्रका रुपमा विकास गर्ने निर्णय गरेको थियो । धार्मिक क्षेत्रअन्तर्गत गोकर्णेश्वर र जागेश्वरी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको समेत अध्यक्ष रहेका सिग्देलले बताए ।
Comments are closed.