सहकारीमार्फत सामूहिक खेती

तनहुँ । व्यास नगरपालिका–१० स्थित सिसुवा भतेरी कृषि सहकारीमार्फत सार्वजनिक जग्गामा स्थानीय सामूहिक खेती गर्न जुटेका छन् । उक्त वडास्थित मादी नदी किनार नजिकैको २५ रोपनी जग्गामा मौसम अनुरुपको बाली लगाउन सामूहिक खेतीमा उनीहरु जुटेका हुन् । संस्थाले सामूहिक खेती गरेर विपन्न समुदायको आयवृद्धिमा सहयोग गर्दै आएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले जानकारी दिए ।

सहकारीले अति सीमान्तकृत बोटे, अल्पसङ्ख्यक दरै, दलित तथा विपन्न व्यक्तिको आयआर्जनमा टेवा दिनुका साथै अँधिया खेतीको लागि अन्यत्र जानुपर्ने समस्या हटेको छ । विपन्नको आयआर्जनको लागि वडा कार्यालयले १० वर्षको लागि उक्त सार्वजानिक जग्गा निःशुल्क प्रयोग गर्न अनुमति दिएपछि विगत चार वर्ष अघिदेखि नै सामूहिक खेती गरिदै आएको हो । करिब एक लाख रुपैयाँ लागतमा जमिन समथर बनाएपछि सो खेती शुरु भएको हो ।

सहकारीले राम्रो कार्य गरेको भन्दै व्यास नगरपालिकाले सामूहिक खेतीका लागि १७ लाख रुपैयाँ पर्ने ट्र्याक्टर प्रदान गरेपछि खेती लगाउन सहज भएको अध्यक्ष शर्माले जानकारी दिए । जसको जग्गा छैन उनीहरुलाई पहिलो प्राथमिकता दिएर समूह बनाइएको छ । मैले काम पाइन तथा मैले गरी खान पाइन्न भन्नेका लागि सहकारीले सामूहिक खेतीलाई प्राथमिकता दिएको वडाध्यक्ष तुलसीराम सापकोटाले बताए ।

सहकारीले पराल तथा घाँस सोही ठाउँस्थित गौ संरक्षण प्राङ्गरिक मल उत्पादन तथा सरसफाइ केन्द्रलाई दिने र केन्द्रले गाईको मलमूत्र सामूहिक खेतीको लागि दिने व्यवस्था मिलाइएको छ । सहकारीले मौसम अनुसारको विभिन्न तरकारी, धान तथा माछापालन गर्दै आएका छन् । सहकारीमा आवद्ध भएकाले सामूहिक खेती र गाईभैँसीको दूध बिक्री गरी मासिक ३० हजार रुपैयाँ सम्म आम्दानी गर्दै आएका छन् । उक्त सहकारीमा हाल ३ सय २६ आवद्ध भएकामध्ये १ सय ९ जना सामूहिक खेतीमासमेत सहभागी भइसकेका छन् ।

lcci
You might also like

Comments are closed.