‘क्यान इन्फोटेक-२०२३ सूचना प्रविधिको विकासमा सार्थक बहस छेड्ने प्रयास’

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा चासो राख्नेहरुले महत्वका साथ अवलोकन गर्ने प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ आज (मंगलबार) बाट सुरु हुँदैछ ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले हरेक वर्ष गर्दै आएको क्यान इन्फोटेकको २८ औं संस्करण महासंघले यो पटक माघ २४ देखि २९ गर्न लागेको हो । महासंघले यो प्रदर्शनीलाई विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी र यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माण तथा सार्थक अन्तक्रिया गर्र्नेे उद्देश्य राखेको जनाएको छ ।

महासंघका अध्यक्ष रणजीत पोदारले प्रविधिमा आएका परिवर्तनलाई प्रदर्शन गरिने हुनाले हरेक प्रदर्शनी महत्वपूर्ण हुने बताए । ‘हरेक वर्ष फरक–फरक टेक्नोलोजीहरु भित्रिइरहेको हुन्छ । हेर्दा एउटै देखिए पनि त्यसको भित्री कुराहरु परिवर्तन भइसकेको हुन्छ’ उनले भने, ‘हार्डवेयर, सफ्टवेयरमा परिवर्तन आएकाछन् , सफ्टवेयर पनि अपडेट भर्सन आइसकेको हुन्छ ,ती सबै कुराहरु हेर्ने हो भने सबै कुराहरु त्यहाँ फरक देखिन्छ ।’

क्यान महासंघले हरेक प्रदेशमा यो पटक प्रदर्शनी गर्ने तयारी गरेको छ । अध्यक्ष पोदारले प्रदेशतहको प्रदर्शनीको समेत मिति तय भइसकेको बताए । उनका अनुसार सुदूरपश्चिमको धनगढीमा फागुनको १३ देखि १७ सम्म आयोजना हुँदैछ । त्यसैगरी मधेस प्रदेशमा फागुनको ६ या ७ देखि ९ सम्म आयोजना हुँदैछ । चैतको ३ देखि ७ सम्म मकवानपुरको हेटौडामा आयोजना हुने र गण्डकी प्रदेशको पोखरामा फागुनको २६ देखि आयोजना हुँदैछ ।
अध्यक्ष पोदारले क्यानले संस्थागत विकासमा पनि योजना बनाएको जानकारी दिए । महासंघले संस्थाको आफ्नै भवन बनाउने योजना बनाएको बताए ।

क्यान महासंघलाई सरकार, एनजीओ, आइएनजीओ, इन्टरनेशनल स्तरमा ज्ञान तथा प्रविधि अनुभव साट्ने प्लेटफर्म बनाउने योजना रहेको उनको भनाई छ । ‘देशभरीबाट विभिन्न सूचना प्रविधिको प्रतिस्पर्धाहरु गरेर लुकेर रहेको छविहरु अगाडि ल्याउने कुराहरु पनि हामीले सोचिरहेका छौं । त्यसैगरी यहाँका व्यवसायीहरुका लागि बीटुबी कार्यक्रम गरेर उहाँहरुको व्यापारलाई अगाडि बढाउने प्रयास गर्ने हामीले साेंचिरहेका छौं ’ उनले भने ।

उनले नेपाली प्रविधिलाई स्थापित गराउने अभियानमा पनि क्यान महासंघले भूमिका निभाउँदै आएको बताए । उनले भने, ‘नेपाली सफ्टवेयरका कम्पनीहरुलाई कसरी नेपाल सरकारले पनि पत्याउने, कसरी नेपालमै काम लगाउन सकिने, उत्पादन गरेका सफ्टवेयरहरुलाई कसरी विदेशमा बेच्न सकिने ती कुराहरुलाई क्यान महासंघले कसरी प्रवर्द्धन गर्न सक्छ भन्ने कुराहरु हामीले साेंचिरहेका छौं ।’

jutta mela

क्यान महासंघका महासचिव चिरञ्जिवी अधिकारी यसपटक हामीले अलिकति स्टार्टअप र नविन अनुसन्धानका उत्पादन र स्कूल प्रोजेक्टलाई लक्षित गरेको बताउँछन् । ‘अगाडिका इन्फोटेकमा हार्डवेयरमा मात्र जोड दिइयो भन्ने गुनासो आइरहेको थियो, सोही सुझावलाई आत्मसाथ गर्दै यो पटक आइटीको परामर्श कार्य (काउन्सिलिङ) देखि विद्यार्थी, कलेज, नविन अनुसन्धानसँग जोडिएका फरक फरक प्रर्दशनी (प्याविलियन) को व्यवस्था गर्छौं । अपांगता भएका अवलोकनकर्ताकालागि एप्लिकेशन सोलुशन बनाएका छौं, जसको पनि छुट्टै प्रर्दशनी हुनेछ ’ उनले भने ।
प्रदर्शनीमा हरेक दिन विभिन्न विषयमा छलफल चलाउन कनफ्रेन्स गर्ने योजना बनाएको उनको भनाई छ । उनले भने, ‘अहिले च्याट जिपिटीले गर्दा मान्छेको सिर्जनशिलता हरायो भन्ने छ, त्यसको निराकरण कसरी गर्न सकिन्छ ? त्यसको सम्भाव्यताहरु के–के छन् ? भन्नेबारेमा हामीले कन्फ्रेन्समा छलफल गर्न सक्छौं । अर्को हामीले फाइभजी प्रविधि लगायत अन्य फरक–फरक ५/६ वटा विधामा कन्फ्रेन्स गर्दैछौं ।’

उनले प्रदर्शनीनीबाट विद्यार्थी, व्यवसायी देखि आम सर्वसाधारणले समेत लाभ लिन सक्ने बताए । ‘विद्यार्थी छ भने क्यारियर काउन्सिलको पार्ट हुनसक्छ, व्यवसायी छ भने उसको संभावनाको खोजीको कुरा हुनसक्छ, आइटीमा चासो राख्ने व्यक्ति छ भने उसले कन्फ्रेन्सबाट लिने ज्ञानहरु हुनसक्छ’ उनले भने, ‘चाहना र धैर्यता हुनुपर्यो सिक्ने ठाउँहरु थुप्रै छन् ,अनुभवहरु छन्, नेपालको अहिलेकोको आइटीको अवस्था कस्तो छ, कसरी व्यवसाय अगाडि बढिरहेको छ, नेपालको सफ्टवेयर इन्डष्ट्रिजको अहिलेको अवस्था कस्तो छ ? अहिले डेटावेसको कुराहरु एकदमै खड्केको छ ।’

लर्ड बुद्ध एजुकेशन फाउण्डेसनका अध्यक्ष पंकज जलान सूचना प्रविधिका क्षेत्रमा नेपालमा भएको विकासमा क्यान इन्फोटेकको महत्वपूर्ण भूमिका र योगदान रहेको बताउँछन् । उनी भन्छन्, ‘मैले महसुस गरेको छु, विगत २५ वर्षदेखि क्यान इन्फोटेकले सूचना तथा प्रविधिका क्षेत्रमा जनचेतना फैलाउने काम गर्दै आएको छ, विश्वभर नयाँ नयाँ आएका प्रविधिहरुको प्रवद्र्धन गर्नुका साथै नेपालमा भित्र्याउने र प्रदर्शनमा ल्याउने काममा पनि इन्फोटेकको सकारात्मक योगदान रहेको मान्न सकिन्छ ।’

क्यान कास्कीमा अध्यक्ष आशिष गुरुङ प्रदर्शनी विशुद्धरुपमा आइसीटी सम्बन्धी चासो राख्ने व्यक्तिहरुको जमघट हुने महाकुम्भ मेला भएको बताउँछन् । उनी भन्छन्, ‘यसमा सूचना तथा प्रविधि क्षेत्रमा लागेका कम्पनीहरुले आफ्नो मार्केटिङ गर्ने, आफ्ना ग्राहकहरुको पहिचान गर्ने यसका साथै नयाँ–नयाँ प्रडक्टहरुको मार्केटिङ गर्ने, आफ्नो पिआरहरु बढाउनका लागि क्यान इन्फोटेक महत्वपूर्ण छ, अझै यसमा बिटुबी (बिजनेस टु बिजनेस) मुख्य विषय हो ।’

यी हुन्प्रायोजक तथा पार्टनर
२८औँ क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा इन्फोडेभलपर्स प्रालि र एसोसिएट स्पोन्सरमा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) रहेका छन् । आयोजकले प्रायोजक कम्पनीका आधारमा यो बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एससीटी’ नाम दिएको छ ।

क्यान इन्फोटेक २०२३ को प्लाटिनम स्पोन्सरमा डिसहोम फाइबरनेट, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी र ह्वावे रहेका छन् । त्यस्तै सिल्भर स्पोन्सरहरूमा एसपावर, डिजिकम र अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी) रहेका छन् ।
प्रदर्शनीको टिकेटिङ पार्टनरमा पे वेल, इन्स्यारेन्स पार्टनरमा आइएमई जेनेरल इन्स्योरेन्स, नलेज पार्टनरमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ पार्टनरमा इन्टरनेसनल स्कुल फर स्किल्स, फुड एन्ड बेभरेज पार्टनरमा र्याकेट बार एन्ड इभेन्टस, पावर्ड बाई आइएमई पे र एसएमएस पार्टनरमा स्प्यारो एसएमएस रहेका छन् ।

पेवेलको एपबाट २५ रुपैयाँमाअवलोकन गर्न सकिने
क्यान इन्फोटेकको अवलोकनका लागि सर्वासाधारणलाई रु. १०० र विद्यार्थीलाई रु. ५० शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ । आयोजकले इन्फोटेकको टिकेटिङ पार्टनर पेवेलको मोबाइल एप डाउनलोड गरी एपबाटै रु. २५ मा टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।आयोजकले यो प्रदर्शनीमा ३ लाखले अवलोकन गर्ने अनुमान गरेको जनाएको छ । प्रदर्शनीमा ९० स्टल रहेकाछन् ।

You might also like

Comments are closed.