अर्थतन्त्रलाई दीगो र बलियो, व्यवसायीलाई सक्षम र सफल बनाउन पहल गर्नेछु : ढकाल

चन्द्रप्रसाद ढकाल, कार्यकारिणी सदस्यको उम्मेदवार (एशोसिएटतर्फ), नेपाल उद्योग वाणिज्य महासंघ

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभा तथा निर्वाचन चैत २८ र २९ गते काठमाडौंमा हुँदैछ । महासंघको निर्वाचनका लागि एशोसिएट तर्फको कार्यकारिणी समिति सदस्य पदमा युवा व्यवसायी चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिएका छन् । महासंघमा उम्मेदवारी दिएका ढकालसँग आर्थिक आजावले गरेको कुराकानीः

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तपाईंको उम्मेदवारी किन ?

मैले एशोसिएट तर्फको कार्यकारिणी समिति सदस्य पदमा उम्मेदवारी दिएको छु । लामो समयदेखि उद्योग वाणिज्य महासंघमा मैले विभिन्न तरिकाले योगदान दिदै आएको छु । उद्योग वाणिज्य महासंघको दुई राष्ट्रिय (वाइ नेसन फोरम) समितिमा रहेर काम गरिरहेको छु । युवाहरुको पनि महासंघमा नेतृत्व हुनुपर्छ भन्ने महसुस गरेर मैले उम्मेदवारी दिएको हुँ । साना तथा मझौला व्यवसायीको आवाज उठाउनका लागि पनि मेरो उपस्थिति महासंघमा आवश्यकता महसुस गरेको छु । त्यसको प्रतिनिधित्व मेरो उम्मेदवारीले गर्छ भन्ने लाग्छ । आजको अवस्थामा साना तथा मझौला व्यवसायीको जिडिपिमा करिव ४० प्रतिशत भन्दा धेरै योगदान छ । उहाँहरुका आवाजलाई महासंघमा पुर्याउने अठोटसहित उम्मेदवारी प्रस्तुत गरेको हुँ ।

jutta mela

तपाईंका अन्य योजना तथा प्रतिबद्धताहरु केके छन् ?

अहिलेको तरल अवस्था, व्यापार घाटा, बैंकको व्याज वृद्धि, व्यवसायलाई दीगो र मर्यादित कसरी बनाउने भन्ने विषय छन् । यी समग्र कुरालाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायीका समस्या उद्योग वाणिज्य महासंघको फोरममा पुर्याउने छु । नेपाल सरकारका विभिन्न निकायमा लविङ गरेर समस्या समाधानतर्फ लाग्न सक्छु भन्ने अठोटका साथ मैले उम्मेदवारी दिएको छु । उद्योग वाणिज्य महासंघमा एशोसिएटतर्फ १७६२ कम्पनी दर्ता भएका छन् । सानादेखि ठुला व्यवसायीहरुसम्म सबैको प्रतिनिधित्व एशोसिएटले गर्छ । सबै पक्षको भावना, समस्या र अवस्था बुझेर अगाडि बढ्न सकेमा मात्र एसोसिएटका साथै उद्योग वाणिज्य महासंघको गरिमा पनि बढ्छ भन्ने मलाई लाग्छ ।

साना र ठूला व्यवसायीलाई एक ठाउँमा ल्याउन तपाईंको भूमिका कस्तो रहन्छ ?

मुलुकको अवस्थालाई माथि उकास्न, व्यवसायलाई दरिलो र सक्षम बनाउन साना र ठुला दुवै व्यवसायी एकै ठाउँमा रहेर अगाडि बढ्नुपर्छ । ठुला व्यवसायीका अनुभव र ज्ञान सबैलाई सेयर गर्ने र साना व्यवसायीलाई सक्षम बनाउने मेरो लक्ष्य छ । यसमा मैले पुलको भुमिका निर्वाह गर्नसक्छु । राज्यसमक्ष व्यवसायीका समस्या तथा मर्का, नीतिगत कमजोरीहरु सुधारतर्फ लाग्नेछु ।

निजी क्षेत्रसँग राज्य पनि जिम्मेवार बन्न जरुरी छ । राज्यसँग तपाईंको समन्वय कसरी हुन्छ ?

सरकार र निजी क्षेत्रको आपसी सहकार्य र समन्वयमा मात्रै मुलुकको समृद्धि सम्भव छ । सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी छ । निजी क्षेत्रले व्यापार व्यवसायबाट कमाउँछन् र राज्यलाई कर तिर्छन् । रोजगारी सिर्जना गर्छन् । अब सरकार र निजी क्षेत्रबीचमा भएको ग्यापलाई पनि कमी गर्नुपर्नेछ । म त्यसका लागि पहल गर्नेछु । उद्योग मन्त्रालयमा मुलुक र व्यसायी दुवैलाई फाइदा हुने कार्यक्रमहरु हामीले पेश गरेका छौं । त्यसको लागि लविङ गरेर राज्यको अर्थतन्त्रलाई कसरी दीगो र बलियो बनाउन सकिन्छ र व्यवसायीलाई कसरी सक्षम र सफल बनाउन सकिन्छ भन्ने हिसावले काम गर्नका लागि मेरो उम्मेदवारी हो ।

अन्त्यमा के भन्नुहुन्छ ?

विभिन्न देशबाट व्यवसाय सम्वन्धी ज्ञान लिएको छु । व्यवसायीको हकहितका लागि काम गर्ने, नेपालको अवको नयाँ व्यवसाय कृषि, आइटी क्षेत्र लगायका सम्भावना तथा सक्षम जनशक्तिलाई नेपालमा नै कसरी स्थापित गर्न सकिन्छ र टेक्निकल हवका रुपमा नेपाललाई कसरी विकास गर्नसकिन्छ भन्ने विषयमा नीति निर्माण गरेर विदेशी विद्यार्थीलाई नेपाल भित्र्याउनका लागि नेतृत्व उद्योग वाणिज्य महासंघले गर्नुपर्छ र म त्यसका लागि आफ्नो ठाउँबाट सशक्त पहल गर्नेछु । कार्यकारिणी सदस्यमा अत्याधिक मतका साथ विजयी गराउनुहुनेछ भन्नेमा म विश्वस्त छु ।

You might also like

Comments are closed.