‘विदेशको उच्च शिक्षाबारे सम्पूर्ण जानकारी इक्यान मेलामा’

दीपकराज भुसाल, महासचिव, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)

 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा १४औं संस्करणको इक्यान शैक्षिक मेला सुरु भएको छ । कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी इक्यानले यस पटक भर्चुअल माध्यमबाट मेला सञ्चालन गरेको छ । मेलाका सन्दर्भमा केन्द्रित रहेर इक्यानका महासचिव दीपकराज भुसालसँग आर्थिक आवाजले गरेको संक्षिप्त कुराकानी :

भर्चुअल रुपमा इक्यान फेयर आयोजना गर्नुको उद्देश्य के हो ?
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले वर्षेनी इक्यान शैक्षिक मेला आयोजना गर्दै आइरहेको छ । अघिल्लो वर्षसम्म हामीले राजधानीको भृकुटीमण्डपमा मेला गर्दै आइरहेका थियौं । यस पटक कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी अनलाइनमार्फत मेला आयोजना गरेका छौं । प्रत्यक्ष रुपमा भेटेर भिडभाड गरी मेला गर्नु भन्दा अहिलेको समयमा प्रविधिको प्रयोग गरी मेला गर्नु उपयुक्त हुन्छ भन्ने सोचका साथ हामीले मेला आयोजना गरेका हौं । जुन मेला माघ २ गते शुक्रबार सुरु भइसकेको छ र माघ ५ गतेसम्म चल्नेछ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा अभिभावकका लागि मेला प्रभावकारी बन्नेछ ।

भर्चुअल रुपमा इक्यान फेयर भइरहँदा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छौं । कुनै एउटा ठाउँमा प्रत्यक्ष मेला सञ्चालन गर्दा काठमाडौं तथा आसपासका क्षेत्रलाई मात्रै लक्षित हुन्थ्यो । अहिले अनलाइनका माध्यमबाट मेला आयोजना गर्दा देशभरलाई समेट्न सकेका छौं । इक्यानका शाखाबाट पनि मेलामा राम्रो सहभागिता छ । इन्टरनेटको पहुँच भएका सबै ठाउँबाट मेलामा सहभागी हुन सकिने भएकाले पनि अनलाइन प्रविधिबाट आयोजित मेला सबैको पहुँचमा र प्रभावकारी भएको प्रतिक्रिया पाएका छौं । यसपटकको मेलामा भएका सबल र कमजोर दुवै पक्षको समीक्षा गरी आगामी वर्ष गर्ने मेलाका सन्दर्भमा हामीले रणनीति पनि बनाउनेछौं ।

फेयरमा कतिजना विद्यार्थी सहभागी हुने अपेक्षा गर्नुभएको छ ?
देशभरबाट विद्यार्थीहरु फेयरमा अनलाइनका माध्यमबाट जोडिने भएकाले उल्लेख्य मात्रामा सहभागिता हुने अपेक्षा हामीले गरेका छौं । दैनिक २० हजार विद्यार्थी मेलामा सहभागी भएर परामर्श लिनुहुनेछ भन्ने विश्वासमा हामी छौं । बिट्रिस काउन्सिल प्रिजेन्टर रहेको यो मेलामा विदेशस्थित विभिन्न विश्वविद्यालय तथा कलेज र नेपालमा रहेका परामर्श दातृ संस्थाहरुको उल्लेख्य सहभागिता छ ।

इक्यान शैक्षिक मेलामा किन सहभागी हुने ?
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा अभिभावकका लागि परामर्श सेवा लिने सबैभन्दा ठूलो प्लेटफर्म नै इक्यान शैक्षिक मेला हो । विद्याथीले आफू अध्ययनका लागि जान चाहेको देश, मन परेको कन्सल्टेन्सी वा सम्बन्धित कोर्सका बारेमा आवश्यक सम्पूर्ण जानकारी मेलाबाट लिनसक्नेछन् । छात्रवृत्ती, भाषा शिक्षाका कक्षालगायत करिअर काउन्सिलिङबारे जानकारी तथा परामर्श लिन पनि मेला प्रभावकारी माध्यम बन्नेछ । कोरोनाका कारण परिवर्तन भएको शिक्षा नीति तथा डकुमेन्टेसनका बारेमा जानकारी लिन पनि यो मेला उपयुक्त माध्यम हो ।

अन्त्यमा के भन्नुहुन्छ ?
इक्यान शैक्षिक मेला माघ ५ गतेसम्म जारी रहन्छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई मेलामा सहभागी भएर परामर्श सेवा लिन म आग्रह गर्दछु । हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अनलाइन प्रविधिका माध्यमबाट मेला सञ्चालन हुनेछ ।

You might also like

Comments are closed.