‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ – सम्पादकीय

पोखरा विश्वकै पर्यटकीय आकर्षणको केन्द्र हो । देशकै राजधानी पछिको महत्वपूर्ण स्थल पनि हो । पोखराको एउटा महत्वपूर्ण स्थलको रुपमा रहेको छ लेखनाथ क्षेत्र सात तालको शहरका रुपमा प्राकृतिक सुन्दरता र संस्कृतिले भरिपूर्ण रहेर । कवि लेखनाथ पौड्यालको जन्मस्थलले विशिष्ट पहिचान र परिचय बनाएको यो २०५३ मा तत्कालिन राखी, लेखनाथ, शिशुवा र बेगनास गाउँ विकास समितिलाई मिलाएर नगरपालिका बनेसँगै विकासको पथमा अघि बढेको छ ।

शैक्षिक, पर्यटकीय, खेलकुद, उद्योग धन्दा र पूर्वाधार विकासका क्षेत्रमा यो क्षेत्र समय अनुसार अघि बढ्दै गएको छ जुन यस क्षेत्रको समयको माग पनि हो । पोखरा महानगरपालिकाभित्र समेटिएको यो विस्तारै महानगरको वृहत विकासको अवधारणाभित्र रहेर जनचाहना अनुसार अघि बढ्दै छ ।

पोखराको औधोगिक क्षेत्र र समग्र पोखरामा बढ्दो उद्योग धन्दा तथा बन्द व्यापारसँगै लेखनाथ क्षेत्रमा पनि पूर्वाधार र उ्रद्योग धन्दाको विकास हु्ँदै गएको छ । खासगरी लेखनाथ उद्योग वाणिज्य संघको स्थापनासँगै यसको सक्रियता र यस क्षेत्रका सरोकारवालको पहल र प्रयासमा पनि यहाँ उद्योग धन्दा थपिदै गएका छन् । प्रारम्भिक रुपमा तेल, तोरी, चकलेट, खाद्यान्न हुँदै पछिल्लो समयमा आएर बिस्कुट चाउचाउ, साबुन, ग्यासलगायतका उद्योग थपिदै गएका छन् । पर्यटकीय पूर्वाधारका रुपमा होटल र आकर्षक गन्तव्य थपिएका छन् । वेगनास र रुपातालसहितका सात तालले यहाँको समग्र पर्यटकीय आकर्षणलाई अग्लाएको छ । अरु स्थल पनि छदैछन् । पोखरा विश्वविद्यालयसहितका शैक्षिक संस्था र अन्य संस्थागत संरचना बढेका छन् ।

लेखनाथ उद्योग वाणिज्य सङ्घ स्थापनाको रजत वर्षसम्म आइपुग्दा यसले यस क्षेत्रको आर्थिक, सामाजिक, शैक्षिक, पर्यटकीय, पूर्वाधार र उद्योग धन्दासहितको विकासमा उल्लेखनीय योगदान दिएको छ । त्यति मात्र होइन यसले पहिले स्थानीय कृषि उत्पादनलाई बढावा दिने उद्येश्यले सुरु गरेको सुन्तला महोत्सव अहिले आएर महोत्सवका पनि महोत्सवका रुपमा विकास भएर लेखनाथ महोत्सवको १८ औ संस्करणका रुपमा रहेको छ जुन यसपटक पनि पुस ७ देखि १८ गतेसम्म तालचोकमा सम्पन्न हुँदै छ । खासगरी स्थानीय तथा राष्ट्रिय उद्योग धन्दा र उद्योगी व्यवसायीलाई एकै ठाउँमा भेला गराएर उत्पादनको बजारीकरणसहित मूलत स्थानीय उत्पादनलाई टेवा दिने यो महोत्सवको मकसद देखिन्छ । साथै मनोरञ्जन पनि मेलाको उद्येश्य हो ।

लेखनाथ महोत्सवको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलन । तस्बिरः आर्थिक आवाज

मेला महोत्सव एउटा माध्यम भएपनि यो यस क्षेत्रकै समग्र आर्थिक, कृषि, शैक्षिक, सांस्कृतिक, पर्यटकीय, उद्योगधन्दा र पूर्वाधार विकासको गतिलो आधारशीला हो भन्नेमा दुईमत छैन । जनताको चाहना, माग र आवश्यकता अनुसार आधुनिक समाजमा आवश्यक पर्ने विकासको आधारशिला खडा गर्न यसप्रकारको मेलामहोत्सवले महत्वपूर्ण योगदान दिनेछ । यसको निरन्तरताका लागि संघ र यसको नेतृत्वकर्तालाई धन्यवाद दिनैपर्छ । ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने नाराले पनि नयाँ नेपालमा यस क्षेत्रका जनताको चाहनालाई विकासको बाटोमा अघि बढाउन यो मेलाले मार्गप्रशस्त गर्नेनै छ । महोत्सवको निरन्तरता र सफलताको हार्दिक शुभकामना ।

You might also like

Comments are closed.