महासंघको निर्वाचन आउन एक वर्ष बाँकी छदै चुनावी माहोल सुरु

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनाव लागेको छ । निर्वाचन आउन एक वर्ष बाँकी छदै उम्मेदवारका आकांक्षीहरुले चुनावी अभियानलाई तिब्र बनाइसकेका छन् । गत चैत २८ गते काठमाडौंमा महासंघको ५९औं साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभा सकिएलगत्तै महासंघ बस्तुगततर्फका कार्यसमिति सदस्य नरेशलाल श्रेष्ठ र शिवप्रसाद घिमिरेले आआफ्ना पक्षका बस्तुगत अध्यक्षहरुको भेला नै गरेर उम्मेद्वारी प्रस्तुत गरिसकेका छन् । दुवै जनाले आफू उम्मेदवार भएकाले सहयोग गर्न बस्तुगत अध्यक्षहरु समक्ष अपिल गरिसकेका छन् । कार्यक्रममा सहभागिताको आधारमा अहिले नै कसको पक्षमा कति जना बस्तुगत अध्यक्षहरु खुल्छन् भन्ने अवस्था थाहा नभएपनि त्यो भेलाले महासंघ भित्र चुनावी अभियान सुरु भएको भने पुष्टि गरेको छ ।

२०८२ चैत २८ र २९ गते महासंघको ६०औं साधारणसभा एवं निर्वाचन हुनेछ । महासंघका बर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको कार्यकाल त्यसपछि सकिनेछ । निर्वाचन आउन एक वर्ष बाँकी छदै उम्मेदवारहरुले आआफ्नो पक्षमा माहोल बनाउन सुरु गरेका हुन् । महासंघको अबको निर्वाचन परिवर्तित विधान अनुसार हुनेछ । यस अगाडि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था महासंघमा थियो । सोही व्यवस्था अनुसार हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ आगामी साधारणसभाबाट स्वतः अध्यक्ष हुनेछन् । अन्जन अध्यक्ष भएपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था सकिनेछ ।

अबको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष नयाँ कार्यसमिति सदस्यहरुबाट चुनिने व्यवस्था परिवर्तित विधानले गरेको छ । अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने प्रक्रिया अन्जन पछाडिको निर्वाचनबाट लागु हुनेछ । अन्जन अध्यक्ष हुने कार्यसमितिको वरिष्ठ उपाध्यक्षका लागि सुरुमा कार्यसमिति सदस्य हुने र बहुमत सदस्यहरुको साथमा वरिष्ठ उपाध्यक्ष हुने रणनीतिमा हालका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल छन् । ढकालसँगै पूर्व उपाध्यक्ष रामचन्द्र संघाई, दिनेश श्रेष्ठ र किशोर प्रधान पनि वरिष्ठको आंकाक्षी छन् ।

बर्तमान उपाध्यक्षहरु सुरकृष्ण वैद्य र ज्योत्सना श्रेष्ठले आफ्नो उम्मेदवार कुन पदमा हुने खुलेर सार्वजनिक गरिसकेका छैनन् । त्यसैगरी महासंघमा लामो समयसम्म कार्यसमिति सदस्य भएर काम गरेका केही पूराना निजी क्षेत्रका नेताहरुसमेत पदाधिकारीको आंकाक्षी भएपनि सार्वजनिक गरिसकेका छैनन् ।

संशोधित विधान अनुसार हुनेछ निर्वाचन
महासंघमा अबको चुनाव परिवर्तित विधान अनुसार हुनेछ । वरिष्ठ उपाध्यक्ष कार्यसमिति सदस्यहरुबाट निर्वाचित हुनेछ । यस अगाडि आफू विजयी हुन मेहनत गर्ने वरिष्ठ उपाध्यक्षका आकांक्षीले अब आफ्नो पक्षमा धेरै सदस्य जिताउन भूमिका खेल्नुपर्ने अवस्था आउनेछ । गत मङ्सिरमा सम्पन्न महासंघको विशेष साधारण सभाले सर्वसम्मत विधान संशोधन गरेको हो । महासंघको विधान २०४९ मा सातौँ संशोधन भएसँगै महासंघको अध्यक्षमा निर्वाचन हुने पूरानै व्यवस्था लागु भएको हो । २०७३ यता वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था महासंघमा लागु भएको थियो ।

महासंघकोे कार्यकाल ३ वर्षको रहेकामा अब २ वर्षे कार्यकाल लागु हुनेछ । महासंघको उपाध्यक्ष ३ जना रहेकोमा अब ५ जनाको रहनेछ । एक जना वरिष्ठ उपाध्यक्ष रहनेछन् । जिल्ला नगरतर्फ एक थप गरी दुई जना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । महिला उपाध्यक्षसमेत रहने व्यवस्था विधानमा गरिएको छ । महिला उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्नेछ । कार्यकारिणी समितिमा कम्तीमा १२ जना महिला सदस्य भएमात्रै महिला उपाध्यक्ष चुनिनेछ । महिला उपाध्यक्षको सभापतित्वमा महिला उद्यमी परिषद् गठन हुनेछ ।

महासंघको नेतृत्व तहमा महिला सहभागिता बढाउन जिल्ला, नगर, वस्तुगत र एसोसिएटतर्फ महिला सदस्य निर्वाचित हुने गरी आरक्षणको व्यवस्था गरिएको छ । महासंघ अन्तर्गतको नेपाल युवा उद्यमी मन्चका अध्यक्ष महासंघ केन्द्रीय कार्यकारिणी समितिमा पदेन सदस्य रहने व्यवस्था पनि नयाँ विधानमा गरिएको छ ।

 

You might also like

Comments are closed.