नेपाली खानाको अन्वेषण गर्न युवा सेफ प्रतियोगिता

काठमाडौं । अन्तर्राष्ट्रियस्तरमा नेपाली खानाको अन्वेषणका लागि युवा सेफ प्रतियोगिता हुने भएको छ ।सेफ्स एशोसिएशन अफ नेपालले ग्लोबल नेप्लिज् सेफ्स फेडेरेशन र इन्टरनेशनल नेपाली सेफ्स सोसाइटीसँगको सहकार्यमा भोलि आइतबार युवा सेफ्स प्रतियोगिता आयोजना गर्न लागेकोे हो । प्रतियोगितामा होटल व्यवस्थापनको अध्यापन हुने उपत्यकाभित्रका ११ कलेजका विद्यार्थीले भाग लिने फेडेरेशनका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिए ।

ललितपुरको पाक कला तथा आतिथ्य व्यवस्थापन प्रतिष्ठानको सभा कक्षमा हुने प्रतियोगितामा गेट, शुभश्री, एनसीसीए, कलिनरी आर्ट, रिट्स, गोल्डेन गेट, क्वीस्ट, नेसफिल्ड र हिमालयन ह्वाइट हाउस कलेजका साथै पद्यमकन्या क्याम्पस र सरस्वती क्याम्पसका विद्यार्थीको सहभागिता रहने उनको भनाइ थियोे ।

प्रतियोगिताको अन्तर्राष्ट्रिय निरीक्षकमा विविसी मास्टर सेफ सन्तोष शाह, सेफ एलेक्स वेब, सेफ बार्ट भान डेरली र सेफ फिली तथा राष्ट्रिय निरीक्षकमा सेफ भण्डारीसहित सूर्यकिरण श्रेष्ठ र श्याम लामा रहने जनाइएको छ ।

युवा सेफलाई प्रोत्साहन गर्दै युवालाई नेपाली खानाप्रतिको सकारात्मक विचार जगाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा होटल व्यवस्थापनमा स्नातक अध्ययन गरेका विद्यार्थीले भाग लिन पाउने भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख रुपैयाँ, द्वितीयलाई ५० हजार रुपैयाँ र तृतीयलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

You might also like

Comments are closed.