कोरोना संक्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

नगरपालिकाका ११ महिलासहित २२ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । हालै सम्पन्न नवौँ नगरसभाले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाको परिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । यसका लागि नगरपालिकाले मृतकको कागजातसहित स्वास्थ्य शाखामा सम्पर्क गर्न सम्बन्धित परिवारलाई आग्रह गरेको छ । “नगरसभामा निर्णय भएअनुसार कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाको परिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग गर्दैछौँ”, नगरप्रमुख भीम न्यौपानेले भने ।

उनका अनुसार शुक्रबारदेखि सम्पर्कमा आएका मृतकको परिवारलाई उक्त सहयोग रकम हस्तान्तरण गरिनेछ । हाल नगरपालिका भित्रका १२ महिलासहित ४६ जना कोरोनाका सक्रिय संक्रमित छन् । पनौती नगरपालिकाका सबै संक्रमित होम आइसोलेसनमै रहेको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जनाएको छ ।

नगरपालिकाले आउँदो केही महिनामा कोरोना भाइरस संक्रमणको दर बालबालिकामा उच्च हुने प्रक्षेपण गरेको छ । सोही अनुरुप संक्रमित बालबालिका लागि हाललाई ३० श्ययाको अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माण गरेको छ । स्थानीय रोटरी नेपालसँगको सहकार्यमा सम्भावित दुर्घटनाबाट बालबालिकालाई जोगाउन अहिल्यै पूर्वतयारीस्वरुप वडा नं ४ कार्यालयमा आइसोलेसन वार्ड बनाएको नगरप्रमुख न्यौपानेले बताए ।

नगरपालिकाले कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि वैशाख अन्तिम साता २५ श्ययाको अक्सिजनसहितको आइसोलेसन कक्ष व्यवस्थित गरेको थियो । काभ्रेपलाञ्चोकमा हालसम्म १४ हजार ६३ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । तीमध्ये १८७ जनाको मृत्यु भएको छ । हालसम्म कूल संक्रमितमध्ये ९६ प्रतिशत अर्थात् १३ हजार ४३२ जना संक्रमणमुक्त भइसकेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमित थपिएका छन् भने ८५ जना संक्रमणमुक्त भएका छन् ।

काभ्रेपलाञ्चोकमा हाल ४४४ जना सक्रिय संक्रमित छन् । तीमध्ये सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १२६, बनेपामा १०४, पाँचखालमा ५१, नमोबुद्धमा ५४, मण्डनदेउपुरमा नौ तथा रोशी गाउँपालिकामा १०, चौँरी देउरालीमा एक, तेमालमा एक, भुम्लु १५, खानीखोलामा दुई, बेथानचोकमा १८ र महाभारत गाउँपालिकामा दुई रहेको केन्द्रले जनाएको छ ।

You might also like

Comments are closed.