भावनात्मक शक्ति महिला उद्यमीको बलियो हतियारः यसरी बनाउन सकिन्छ दीगो ग्राहक

कञ्चन रावत, प्रवन्ध निर्देशक, कञ्चन हिलिङ प्रा.लि.

प्राय काम गर्ने महिलाहरुले सुन्नुपर्ने वाक्यमा, ‘तपाईं एकदम भावुक हुनुहुन्छ ।’ महिलाहरुको पेटमा केही पनि पच्दैन, यो महिलाहरुमा लगाइएको आलोचना हो । सामान्यता आफ्नो भावना व्यक्त गर्न डराउने पुरुषहरुबाट यस्तो उपनाम महिलाहरुले पाउने गर्दछन् ।

तपाईं भावुक हुनुहुन्छ, तपाईंहरुले सही निर्णय गर्न सक्नुहुँदैन । नेतृत्व गर्ने क्षमता काचो छ । आफ्नो भावनालाई बस्मा गर्न सिक्नुपर्छ । अन्यथा तपाईं कुशल नेतृ होइन । यसो भन्दै महिलालाई कमजोर बनाउने प्रयास हुन्छ ।

यस्तो भनाई, यो आरोप सबै भन्दा खराब दोषारोपण हो । किनभने भावना महसुस गर्न, बुझ्न र त्यसलाई नियन्त्रणमा राख्न सक्ने क्षमता वास्तवमा कुनै पनि मानवको महानशक्ति हो ।

jutta mela

अनुसन्धानले देखाए अनुसार पुरुषहरुले भन्दा महिलाहरुले बढी अनुभूति देखाउँछन् ।

अरु मानिसहरुसँग भावनात्मक सम्बन्ध राख्न पुरुषहरु भन्दा महिलाहरुको बलियो डा«इभ हुन्छ र यसको जैविक तथा सामाजिक दुवै जराहरु छन् । महिलाहरु जैविक रुपमा र भावनात्मक रुपमा सम्बन्ध राख्न त्यही अनुसार विकास भएका हुन्छन् । त्यही अनुसार प्रशिक्षण पनि पाएका हुन्छन् । यो क्षमताको आर्थिक मूल्य निकै महत्वपुर्ण हुन्छ । यो नै सम्पति पनि हो ।

यदि तपाईंले कसैको जीवनमा केही मूल्य थप्नुभयो वा जीवनको समस्या समाधान गर्नुभयो भने ग्राहकले सधै तपाईंसँग खरिद गर्छन् ।

विशेष गरी, बिक्रीको नयाँ मोडेलभित्र महिला उद्यमीहरु सफलताका लागि प्रमुख मानिन्छन् ।

यस लेखमा अनुभूति कसरी बढाउने र धेरै सामग्री बेच्न र स्थायी ग्राहक बनाउन तपाईंको जन्मजात भावलाई अझ बलियो बनाउने र लागू गर्न केही सुझावहरु राखेको छु ।

भावनात्मक क्षमता र बिक्रीको पुरानो र नयाँ कला

हामी यस्तो युगमा बाँचिरहेका छौं कि यहाँ धेरै भिडभाड र भागदौडमा हामी छौं । आफ्नो सेवा र सामग्री बिकाउन व्यापारीहरु धेरै तरिका अपनाइरहेका हुन्छन् । धेरै प्रचार गरेर, फोन गरेर, केही छुट दिएर अनेकौै तरिका अपनाउछन् बिक्री बितरण गर्न । तर, कुनै पनि सेवा वा सामग्रीको बिक्री बितरण गर्नुछ भने त्यसको केन्द्रबिन्दु भनेको नै भावनात्मक पक्ष हो ।

तपाईं यदि उद्यमी हो या व्यापारी हो भने तपाईंको मुख्य लक्ष्य ग्राहकको आवश्यकता वा समस्या बुझ्नु हो । ग्राहकको समस्या सुनेर मात्र पुग्दैन, बुझ्न पनि त्यति कै आवश्यक छ । केवल उनीहरुले भनेको कुरामा मात्र ध्यान दिएर पुग्दैन, उनीहरुले कसरी भनिरहेका छन् भन्ने कुरामा पनि ध्यान दिन त्यति कै जरुरी छ । आफ्नो टाउँकोबाट ग्राहकको टाउको प्रवेश गर्न जरुरी छ ।

यहाँ तपाईंको ध्यान आफ्नो विचार व्यक्त गर्नुको सट्टा अर्को व्यक्तिको सेवामा केन्द्रित गर्न जरुरी छ । जुन कुरा महिलाहरुमा जन्मजात स्वाभावमा पर्दछ । भावनात्मक सम्बन्ध स्थापित गरेर बिक्री बितरण गरेर्को दीगो हुन्छ ।

किन अनुभूति आवश्यक छ ?

अरुको भावना महसुस गर्ने क्षमता बिक्रीमा, सेल्समा, एउटा महत्वपूर्ण भाग हो । यसमा अरुको भावना बुझ्नु मात्र होइन त्यसबारे अरुलाई पनि बुझाउनु त्यति नै जरुरी छ । ग्राहकसँग आत्मीय सम्बन्ध स्थापित गर्न र विश्वास जित्नु पनि महत्पूर्ण भाग हो ।

एउटा उदाहरण हेरौं, मेरो एक जना सेवाग्राही थिइन् । जो, आफ्नो स्वास्थ्य र शरीरको मोटाइलाई लिएर निकै चिन्तित । उनी आफ्नो शरीरको वजनलाई नियन्त्रणमा राख्न चाहन्थिन् । मसँग भेट्नु अघि उनी एकाकीपन महसुस गर्थिन् । तिनले आफ्नो स्वास्थ्यबारे धेरै चिन्तित रहने गर्थिन् । के खाने र कसरी व्यायाम गर्ने भनेर अलमलमा परेकि थिइन् । आफूले चाहेको जस्तो जीवन बिताउन नसकेकोमा लाज र कताकता कमजोर महसुस उनलाई भइरहेको थियो । उनले यहि कारण धेरै पैसा खर्च गरिसकेकी थिइन् । कतैबाट पनि राम्रो परिणाम पाएकी थिइनन् । व्यूटि प्रडक्टको प्रयोगदेखि ब्रत बस्ने अन्य थुप्रै तरिका अपनाएर थाकेकि थिइन् । उनी जब तनाब हुन्थ्यो धेरै जङ्क फूड खाने र धेरै सपिङ गर्थिन् । केही सेसन उनीसँग छलफल गरेपछि, उनको बास्तविक समस्या उनको घरमा परिवारको असहयोग थियो । उनी नयाँ कम्पनी सुरुवात गर्न चाहन्थिन् । जो फिटनेश सम्बन्धी थियो तर पुँजी थिएन । न त परिवारको सहयोग । यहि कारण उनमा एक प्रकारको उदासिनता र दुविधा आएको थियो । केही हप्ताको सेसन पछि उनले आफ्नो खानपान र व्यायाममा सुधार आयो । उनले आफ्नो क्षमतालाई पनि चिन्ने मौका पाइन् ।

 

आज उनी अहिले स्वस्थ्य, सामान्य वजनसँग खुशी भएर आफ्नो नयाँ कार्यको लागि छलफल र अध्ययन गर्दैछिन् ।

जब उनको समस्या समाधान भयो, उनले लगातार मूल्य तिरेर सेसन पनि बसिन् । केही अर्गानिक खाना पनि लगातार लिदै रहिन् । उनी आफ्नो समस्याको समाधान पाएकोमा निकै खुसी थिइन् र आफ्नो जीवनमा चाहेको जस्तो परिणाम ल्याउन सक्षम हुनेमा उनी विश्वस्त थिइन् ।
मेरो काम उनलाई चिन्ता र शंकादेखि लिएर भरोसा र आत्म विश्वास बढाउनतर्फ डोर्याउनु थियो ।
‘उत्तेजना र प्रतिक्रियाबीच एउटा ठाउँ छ । त्यस ठाउँमा हाम्रो प्रतिक्रिया छान्ने हाम्रो स्वतन्त्रतामा भर पर्छ । यो शक्तिसँग सम्बन्धित छ । यहि छनौटमा हाम्रो विकास र स्वतन्त्रता निहित छ ।’ – भिक्टर इ. फ्रान्कल

अनुभूतिलाई कसरी बलियो बनाउने ?

ठीकै छ, यदि तपाईँ सोच्दै हुनुहुन्छ । म महिला हँु तर कसरी आफ्नो व्यापार अघि बढाउने, लगानी कसरी उठाउने, कसरी बिक्री गर्ने, कसरी लगानी गर्ने, कतै फस्यो के गर्ने ? सबैले गाली गर्छन् किन जान्ने भा कि भनेर । यो चिन्ता आउनु स्वभाबिक नै हो । यस्तो उत्पन्न हुने भावनालाई केही अभ्यासले बलियो बनाउन सक्छ । तल निम्न कुराहरुको अभ्यास गर्नुहोस् ।

नयाँ व्यक्तिहरुसँग कुरा गर्नुहोस्

नयाँ साथीलाई खाजा खान बोलाउनुहोस् । कुराकानी गर्नुहोस् । उनीहरुको जीवनमा कस्तो चलिरहेको छ, यो बुझ्ने प्रयास गर्नुहोस् । उनीहरुले कसरी कार्य गरिरहेका छन् । आफ्ना भावनालाई, इच्छालाई कसरी व्यवस्थापन गरिरहेका छन् । यो सबै जान्ने प्रयास गर्नुहोस् ।

कौतुहलतालाई अभ्यास गर्नुहोस्

हरेक कुराकानीमा कौतुहलताको अभ्यास गर्नुहोस् । गहिरा भावना साथै सामान्य कुराकानी पनि गर्नुहोस् । साथै उनीहरुको कुराकानीलाई सुनेर मात्र होइन, बुझ्ने प्रयास गर्नुहोस् । उनीहरुले व्यक्त गरेका हरेका कुरामा जिज्ञासा व्यक्त गर्नुहोस् ।

बेग्लै जीवन खोज्ने प्रयास गर्नुहोस्

आफ्नो आरामदायी क्षेत्रबाट बाहिर निस्कनुहोस् र आफ्नो सामान्य दिनचर्या बाहिर काम गरेर नयाँ दृष्टिकोण राख्ने कोसिस गर्नुहोस् । जसले तपाईंको दिमागलाई अन्य मानिसहरुको जीवन र दृष्टिकोण तपाईंको भन्दा फरक हुने तरिकाहरुतर्फ मोड्न सक्छ । नयाँ–नयाँ ठाउँमा यात्रा शुरु गर्नुहोस् । नयाँ खेल खेल्नुहोस् वा पहिला कहिल्यै नगरेको काम गर्नुहोस् । तपाईँभन्दा विपरित मानिसहरुबारे किताब पढ्नुहोस् । तपाईंले हरेक दिन यी मध्ये केही काम गर्नुभयो भने, अनुभूति अझ बलियो हुँदै गएको तपाईंले तुरुन्तै महसुस गर्नुहुनेछ ।

सेवा वा सामग्रीको बिक्री गर्दै हुनुहुन्छ भने भावनाहरुको व्यवस्थापन गर्न जरुरी छ ।

अनुभूति गर्नु कला हो । तर, आफूमा भएको भावनालाई व्यवस्थित गर्नु पनि त्यतिकै महत्वपूर्ण छ । यदि, आफ्नो भावनाबाट प्रभाबित हुनुहुँदैन भने ग्राहकको आवश्यकता बुझ्न सजिलो हुन्छ र त्यही अनुसार सेल्स पनि हुन्छ । यदि ग्राहकको प्रश्न, इन्कार र कहिले काही रिसबाट प्रभाबित हुनु भयो भने अन्त्यमा यही कारण तपाईंमा डर, रिस वा निराश महसुस हुन थाल्दछ । धेरै हदसम्म व्यापार घाटा पनि गराउँछ । व्यापारमा भावनात्मक रुपमा स्थिर हुन निकै आवश्यक छ ।

बिक्री भनेको ग्राहकको समस्याको समाधान हो

यदि तपाईं आफ्नो भावनामा, विचारमा हुनुहुन्छ भने उनीहरुको दिमाग हुनु भन्दा तपाईं आफ्नो दिमागमा हुनुहुन्छ । आफ्नै बारेमा सोचिरहेको हुनुहुन्छ भने यसले तपाईंलाईं नोक्सान गर्दछ । यसकारण, तपाईंको समाधानले तपाईंको ग्राहकको समस्या समाधान गर्न सहयोग गर्नेछ भन्ने विश्वास दिलाउन जरुरी छ ।

यदि तपाईंलाईं यो आफ्नो भावनाबाट निस्कन ग्राहो भएको छ भने, मनलाई व्यवस्थापन गर्ने अभ्यास गर्न जरुरी छ । जस्तै, ध्यान, मन्त्र उच्चारण, हाइकिङ आदि । अरुसँग कुराकानी गर्दा तपाईं कसलाई ध्यान दिदै हुनुहुन्छ, आफैलाई या त अरुलाई यो प्रश्नको जवाफ खोज्नुहोस् । यदि, आफैलाई भने यहाँ तपाईंले आफूमा कार्य गर्न आवश्यक छ । यदि तपाईंले अरुको समस्यामा ध्यान दिनुभएको छ भने चाँडै तपाईंले हरेक कुराकानीलाई उत्साह र सम्भावनाको साथमा हेर्न सक्नुहुनेछ र ग्राहकको मन जित्न सक्नुहुनेछ र तपाईंको सेल्स पक्का नै हुनेछ ।

प्रतिबिम्ब

तपाईंले आफ्नो अहंकारलाई बसमा राखिसकेपछि आफ्नो ग्राहकलाई भावनात्मक रुपमा चिन्न सक्नुहुनेछ । एक अर्कोको भाव मिल्न जरुरी छ । कल्पना गर्नुहोस् तपाईंको बानी जसरी पनि आफ्नो सामान बिकाउनु छ तर तपाईंको ग्राहकलाई सामान लिनुभन्दा भावनात्मक सहयोग चाहिएको छ । र तपाईं केवल यो लिनुहोस् भनेर मात्र बोलिरहनुहुन्छ भने पक्कै पनि उसले नलिन सक्छ । एकछिन बसेर कुरा सुनेपछि मात्र उसलाई लाग्यो कि अब यो सामान लिएर उसको जीवनको समस्यामा केही सहयोग पाउने उसले देख्यो भने पक्कै पनि उसले त्यो समान लिनेछ र तपाईंको लामो समयसम्मको ग्राहक बन्न सम्भावना छ । यसकारण ग्राहकको भावनालाई प्रतिबिम्ब गर्न जरुरी छ । उत्पन्न भएको भावनालाई स्वीकारी, कुनै जजमेन्ट बिना उसैलाई नै समस्याको समाधानमा उत्प्रेरित गर्नु महत्वपूर्ण कला हो ।

हरेक दिन ध्यान दिनुहोस्

मलाई आशा छ कि यदि तपाईंले यो महत्पूर्ण शिपमा ध्यान दिनुभयो भने तपाईँले आफ्नो दैनिक जीवनमा गएर मात्र यसलाई बलियो बनाउन सक्नुहुन्छ । यो अभ्यास गर्न समय छुट्टाउन आवश्यक छैन ।

नयाँ काम गर्ने, अध्ययन गर्ने, किनमेल गर्ने, नयाँ खेल खेल्ने, सामाजिक व्यवहार गर्ने, अरुको ख्याल राख्ने जस्ता कामहरु गरिरहनुहोस् । अरुको साथसाथै आफ्नो भावनाहरुबारे अझ सजग हुनुहोस् । कसैलाई कस्तो महसुस भइरहेको छ, तपाईं उनीहरुलाई ढुक्क महसुस गराउनुहोस्, उनीहरुसँग बलियो सम्बन्ध स्थापित गराउनुहोस् । यही भावनात्मक शक्तिलाई व्यापारिक अन्तरक्रिया पनि प्रयोग गर्नुहोस्, कसैले सामान किन्दा वा सोधपुछ गर्दा कस्तो भावनाहरु अभिव्यक्ति गरिरहेका छन् याद गर्नुहोस् । तर, याद गर्नुहोस्, आफ्नो सामान बिक्री गर्न मात्र अरुको भावनासँग् खेल नगर्नुहोस् । उनीहरुको वास्तविकता भित्र पुगी सहयोग गर्नुहोस् । उनीहरु नै तपाईंको दीगो ग्राहक बन्ने छन् ।्

यो अभ्यासले जागरुकता ल्याउँछ । तर, अझ तपाईं भावनात्मक रुपमा बलियो बन्न जान्नुहुनेछ र तपाईं चाडै आफ्नो ग्राहकको मन पढ्न सक्नुहुनेछ । यहि अनुभूतिको कलाले तपाईंको व्रान्ड बनाउनेछ । जो व्यापारको लागि एकदमै महत्वपूर्ण छ ।

You might also like

Comments are closed.