लक्ष्मी लघुवित्तको १२औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । लक्ष्मी सन्राइज बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १२औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष अपछ कुमार यादवको अध्यक्षतामा आयोजित साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद श्रेष्ठले वर्तमान अवस्थामा लघुवित्तमा देखिएका समस्या र चुनौतिहरुको समिक्षा गर्दै आगामी दिनमा थप सवल बनाउदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

कम्पनीको २०८० असार मसान्तमा कायम रहेको चुक्ता पूंजी रु. ४४ करोड १६ लाख ६२ हजार १ सय छ । आर्थिक मन्दी तथा लघुवित्त संस्था विरुद्ध संचालित कारोवारलाई प्रभाव पार्ने विभिन्न गतिविधिहरुको कारण आ.व. २०७९÷८० मा संस्थाको वित्तीय अवस्थामा प्रतिकुल प्रभाव पर्न गएको र नोक्सान ब्यहोर्नु परेको कारण कायम मुनाफालाई सञ्चित गरी लाभांश वितरण नगर्ने गरी वित्तीय विवरण पारित भएको छ ।

सभाबाट अन्य ईजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती (एक्युजिसन) गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेका ब्यक्तिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावलाई समेत निरन्तरता प्रदान गरेको छ ।

२०६८ फागुन २३ गते वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त गरी संस्थाले २०६९ जेठ २२ गते नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेको हो । हाल आएर देशभर ५६ जिल्लाहरुमा ९० वटा शाखा कार्यालयहरु मार्फत १ लाख ८ हजार भन्दा बढी ग्राहक सदस्यलाई सेवा पुर्याइरहेको छ । विभिन्न प्रदेशमा ५ वटा प्रादेशिक कार्यालयहरु समेत छन् । संस्थाले २०८० मंसिर मसान्तसम्म ७ अर्ब ४ करोड कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट २ अर्ब १९ करोड बचत संकलन गरेको छ ।

You might also like

Comments are closed.