‘करोडौंका प्रोजेक्ट नेपाल भित्र्याएका छौं’

लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १, नेपालले कोेभिड–१९को महामारीको बीचमा पनि सामाजिक क्षेत्रमा उत्साहजनक कार्य गरिरहेको छ । गभर्नर मनबहादुर रोकाले डिष्ट्रिक्टलाई सफल नेतृत्व प्रदान गरिरहेकाछन् । यसैक्रममा डिष्ट्रिक्ट र क्लबले सामाजिक क्षेत्रमा गरिरहेका कामहरु, विभिन्न प्रोजेक्टहरु लगायत विविध विषयमा गभर्नर रोकासँग आर्थिक आवाजले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौंः

कोभिड–१९ का बीच कसरी काम गरिरहनुभएको छ ?
संसार नै यतिबेला कोभिड महामारीसँग संघर्ष गरिरहेको अवस्था छ । हाम्रो प्रमुख कार्य क्षेत्र नै यतिबेला कोभिड बनेको छ । कोभिडसँग रिलेटेड कामहरु यतिबेला धेरै भइरहेका छन् । पिपिइ, मास्क, सेनिटाइजर, फेससेभ लगायत स्वास्थ्य सामग्री आवश्यक भएका ठाउँमा सहयोग गर्ने कार्यक्रमहरु भइरहेका छन् । जनचेतना जगाउने कार्यक्रम भएका छन् । भेटघाटका कार्यक्रम सकेसम्म कम र भएका कार्यक्रम पनि दुरी कायम गरेर गरेका छौं । कोभिडबाट पीडित परिवारलाई खाद्यान्न तथा राहत वितरण भएका छन् । डिष्ट्रिक्ट र क्लब लेबलबाट कार्यक्रमहरु हुँदै आइरहेका छन् ।

कोभिड महामारीको यो समयमा केही क्लबहरुको सक्रियता उत्साहजनक देखिन्छ । धेरै क्लबहरु निस्क्रिय रहेका छन्, के भन्नुहुन्छ ?
क्लबहरुले सामाजिक सेवाका कार्यक्रमहरु उत्साहका साथ गरेका छन् । एउटै क्लबले साढे ५ महिनाको अवधिमा सय वटासम्म कार्यक्रम सफल बनाएका छन् । ४ वर्षदेखि अहिले खुलेका नयाँ क्लबहरुमा सामाजिक कार्य गर्नमा उत्साहजनक सहभागिता देखिन्छ । केही क्लबहरु निस्क्रिय रहनुमा कोभिड ठिक भएपछि काम गरौंला भनेर बसेको जस्तो लाग्छ । काम गर्नका लागि भोलि भोलि भनेर बस्दा आफ्नो क्लबको पहिचान स्थापित गर्न गाह्रो हुने देखिन्छ । यो समय चुनौतिपूर्ण छ । चुनौतिलाई अवसरका रुपमा लिने क्लबहरुले राम्रो काम गरेका छन् । अन्य क्लबहरुले पनि अब छिट्टै सामाजिक सेवाका कार्यक्रम अगाडि बढाउनुहुनेछु भन्ने मैले विश्वास लिएको छु ।

jutta mela

यस वर्ष स्थायी परियोजना केकस्ता आउँदैछन् ?
धौलागिरीको पर्वतको सदरमुकाम कुस्मामा रहेको पर्वत जिल्ला अस्पतालमा डाइलसिस सेन्टर (किड्नी उपचार केन्द्र) का लागि स्थायी परियोजना अन्तर्गत अत्याधुनिक मेसिनहरु राख्नका लागि लायन्स अन्तर्राष्ट्रियमा १ करोड १९ लाख (१ लाख डलर) र स्थानीय लायन्स क्लबहरुबाट करिब ४० लाख रुपैयाँ सहयोग गरी परियोजना अगाडि बढेको छ ।

आँखा शिविर, बालबालिकाहरुको आँखा परीक्षण र सुगर परीक्षण गर्नका लागि साइट अन भेइकल प्रोजेक्ट अगाडि बढेको छ । लायन्स अन्तर्राष्ट्रियमा लायन्स क्लब अफ काठमाडौं समर्पणले यो परियोजना अगाडि बढाएको हो । यो प्रोजेक्ट अन्तर्गत लायन्स अन्तर्राष्ट्रियबाट १ करोड १९ लाख (१ लाख डलर) र क्ल्बबाट करिब ४० लाख रुपैयाँ सहयोग गरी परियोजना अगाडि बढेको छ । यो भेइकल नेपाल भर लगेर आँखाको परीक्षणदेखि शल्यक्रियासम्म गर्न सकिने अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक मेसिन हो ।

बालउद्योग केन्द्रको प्रोजेक्ट पनि अगाडि बढेको छ । यो परियोजना अन्तर्गत हाम्रो डिष्ट्रिक्टबाट गत लायन वर्ष २०१९÷२० मा एमजेएफको जम्मा डोनर रकमको १५ प्रतिशत रकम लायन्स अन्तर्राष्ट्रियबाट प्राप्त गरी काठमाडौंको टोखा बानियाँटारमा बालउद्यान केन्द्र निर्माण गरिदैछ ।

आपतकालीन कार्यक्रम अन्तर्गत केके भएका छन् ?
कोभिड महामारीसँगै देशका ठाउँ ठाउँमा रगतको अभाव भयो । जसलाई परिपूर्ति गर्नका लागि डिष्ट्रिक्टका तर्फबाट आह्वान भए अनुरुप धौलागिरी, गण्डकी र बागमति क्षेत्रमा हाम्रो डिष्ट्रिक्टका क्लबहरुले गरेको ब्लड डोनेसन क्याम्पहरुबाट अहिलेसम्म १७ हजार पिन्ट रगत संकलन भइसकेको छ । साथै कोभिडका बिरामीलाई प्लाज्मा थेरापीबाट उपचार गर्नका लागि कोभिडबाट निको भएका व्यक्तिहरु मार्फत रगत दिन लगाएर यो अभियान पनि हामीले सञ्चालन गरेका छौं ।

मनबहादुर रोका, डिष्ट्रिक्ट गभर्नर, लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १, नेपाल

यो वर्ष धेरै ठाउँमा बाढी पहिरोका घटनाहरु घटे । म्याग्दी, कास्की, बागलुङ, तनहुँ, लमजुङ, स्याङजा, गुल्मीका विभिन्न ठाउँमा बाढी पहिरोबाट ठूलो जनधनको क्षति भयो । यो पीडाका बीचमा हामीले राहतका कार्यक्रमहरु तत्काल सञ्चालन ग¥यौं । क्लबहरुका तर्फबाट करिब ७० लाख रुपैयाँ बराबरको राहत सामग्रीहरु वितरण भए भने डिष्ट्रिक्टले लायन्स अन्तर्राष्ट्रियमा इमर्जेन्सी ग्राण्ड अन्तर्गत १२ लाख रुपैयाँ प्राप्त गरी सो मार्फत पनि राहत सामग्री वितरण गरियो ।

क्लब र सदस्यता बृद्धिलाई प्राथमिकता दिनुको उद्देश्य के हो ?
यो वर्षको दोस्रो कार्यक्रम भनेकै हरेक क्लबलाई बलियो बनाउने हो । जस अन्तर्गत ‘मेरो क्लब, बलियो क्लब’ बनाउने भन्ने अभियान मैले अगाडि सारेँ । यो अभियानमा धेरै क्लबहरुले साथ दिएको मैले महसुस गरेको छु । यसबीचमा सदस्य संख्या थप गरेर धेरै क्लबहरु बलियो क्लबका रुपमा स्थापित पनि भएका छन् । यस अन्तर्गत हामीले सोढ ५ महिनाको अवधिमा ३ हजार भन्दा बढी लायन्स सदस्यलाई हाम्रो डिष्ट्रिक्टका विभिन्न क्लबमार्फत भित्र्याइसकिएको छ । र यो वर्ष चार हजार नयाँ सदस्यहरु भित्र्याउने अभियान सफलता उन्मुख छ । नयाँ क्लबहरु ७० भन्दा बढी खुलिसकेका छन् । सेवाका हातहरु बढाउने र क्लबलाई बलियो बनाउन सदस्यता थपलाई प्राथमिकतामा राखिएको हो ।

बाँकी अवधिमा केके कार्यक्रम गर्ने सोच बनाउनुभएको छ ?
अहिले हामी कोभिड महामारीकै बीचमा छौं । हाम्रो प्रमुख नारा नर्चर द फ्युटर अन्तर्गत गाउँ केन्द्रित बालबालिकाहरुका लागि शिक्षा, दिक्षा तथा पोषणयुक्त खाना वितरण, उनीहरुको उच्च शिक्षासम्मको ग्यारेन्टी, पढाऔं अभियानमार्फत छात्रवृत्ति वितरण क्लबमार्फत गर्ने योजना छ । पर्वत जिल्ला अस्पतालको इक्युपमेन्ट स्टल गर्ने योजना छ । अन्य प्रोजेक्टहरु पनि पाइपलाइनमा छन् । स्थिति सामान्य अवस्थामा आयो भने लायन्स लिडरसिप क्याम्प सञ्चालन गर्ने, लिडरसिप ट्रेनिङहरु चलाउने योजना छ । कोभिडका कारणले गर्दा यो वर्ष भेटघाटका कार्यक्रमहरु कम भएका कारणले फेलोसिपका कार्यक्रमलाइ प्राथमिकता दिने योजना छ ।

यो विषम परिस्थितिमा क्लबस्तरबाट कन्ट्रिव्युसनको अवस्था कस्तो छ ?
क्लबहरुलाई कन्ट्रिव्युसन गर्नु भनेर आह्वान नै गरिएको छैन । तथापि क्लबहरुले स्वतस्फूर्त रुपमा एमजेएफ दिइरहनुभएको छ । पढाऔं अभियानमा २० लाख रुपैयाँ भन्दा बढी योगदान छ । एनएलएफमा २० लाख रुपैयाँ भन्दा बढी थप भएको छ । टियु लायन्स फाउण्डेसनमा २० जना भन्दा बढीले सदस्यताका लागि कन्ट्रिव्युसन गर्नुभएको छ । क्याम्पियन १०० मा उल्लेख्य मात्रामा कन्ट्रिव्युसन भइरहेको छ ।

यो विषम परिस्थितिमा काम गर्ने क्लब र लायन्स सदस्यहरुलाई डिष्ट्रिक्टले कसरी प्रोत्साहन गरिरहेको छ ?
काम गर्ने क्लब तथा साथीहरुलाई हामीले प्रोत्साहन गर्ने तथा उत्साह प्रदान गर्ने काम गरिरहेका छौं । काम गर्ने साथीहरुलाई अवार्ड पनि वितरण भइरहेको छ । हरेक महिना अवार्ड घोषणा गरिरहेका छौं । त्यस्तै आफ्नो कार्यकालमा क्लबमा न्युनतम ५ जना सदस्य थप्ने अथवा क्लब खोल्ने क्लबका अध्यक्षलाई डिष्ट्रिक्ट गभनर्स मेडल, अन्तर्राष्ट्रियको सर्टिफिकेट तथा पिन, डिजी एप्रिसिएसन सर्टिफिकेट र आकर्षक मायाको चिनोबाट सम्मान गर्ने योजना छ । यो वर्षको अन्तिममा क्लब तथा पदाधिकारीलाई यहाँहरुले गरेका योगदानका आधारमा विशेष सम्मानसमेत गर्नेछौं ।

उद्देश्य अनुसार काम गर्न सक्नुभएको छ कि छैन । काम प्रति सन्तुष्ट हुनुहुन्छ ?
मेरो गभर्नरको कार्यकाल विषम परिस्थितिबीच सुरु भएको हो । कोभिडका कारणले गर्दा लायन्समार्फत उल्लेख्य काम हुँदैनन्् कि भन्ने चिन्ता कार्यकाल सुरुवातीमा थियो । तर, लायन्स र क्लबहरु त्यो भन्दा माथि उठेर चुनौतिका बीचमा अवसर खोज्ने काम भयो । फलस्वरुप बिगतका वर्षहरुमा भन्दा अझ बढी सामाजिक सेवाका कार्यक्रमहरु भए । जसका कारणले मलाई पनि उत्साह थपियो । हामीले सामाजिक सेवा गर्नका लागि होस अथवा संस्थालाई बलियो बनाउनका लागि होस पूर्ण रुपमा सफल भएका छौं । यसबाट म लगायत समग्र डिष्ट्रिक्ट टिम नै सफल भएको महसुस गरेको छु ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
हाम्रो डिष्ट्रिक्टमा अहिले ५ सय ५१ वटा क्लबहरु पुगेका छन् । यस मध्ये २ सय ३० वटा क्लबबाट एक जना सदस्य थप भएका छैनन् । मेरो क्लब बलियो क्लब बनाउने डिष्ट्रिक्टको कार्यक्रमलाई सफल बनाउन सबै क्लबहरुलाई समाहित हुन म आग्रह गर्दछु । यसको फाइदा भनेको प्रत्यक्ष क्लबलाई हो । साथै नयाँ थप सदस्य साथीहरुबाट सामाजिक क्षेत्रमा पनि उल्लेख्य योगदान हुनेछ । जुन क्लबका साथीहरुले कोभिड ठिक होला र काम गरौंला भनेर बस्नुभएको छ भने अब यसलाई बाहना नबनाई सकेसम्म आजैका दिनदिनदेखि आफ्नो क्लबलाई स्थापित गर्ने गर्ने सामाजिक कार्यको क्षेत्रमा होमिन म हार्दिक अनुरोध समेत गर्दछु ।

You might also like

Comments are closed.