काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपालले खस्कदै गएको अटोमोवाइल व्यवसाय र देशको समग्र अर्थतन्त्रमा सुधार ल्याउन अर्थ मन्त्रालयलाई २२ बुँदे सुझाव पेश गरेको छ ।
अहिले सरकारले प्रोटोकल फर मुभमेण्ट अफ कार्गो विद रिफरेन्स टु द मोटर भेहिकल्स एग्रिमेण्ट फर द रेगुलेशन अफ प्यासेञ्जर, पर्सोनल एण्ड कार्गो भेहिकुलर ट्राफिक विटविन बङ्गलादेश, भुटान, इण्डिया र नेपाल (विविआइएन) को प्रारुपका विषयमा छलफल चलाउदै आएको छ । यी चार देशबीच खुला यातायात प्रणाली सञ्चालनमा आउनु निश्चय नै स्वागतयोग्य विषय हो । तर यस विषयमा सरकारले सम्झौता गर्दा नेपालमा पर्ने केही व्यावहारिक पक्षबारे विशेष ध्यान दिनुपर्ने नाडाले सुझाव दिएको छ ।
नेपालमै कुनै पनि यातायातका साधनको म्यानुफयाक्चरिङ्ग नहुने, नेपालमा आयात गरिने झण्डै ८० प्रतिशत यातायातका साधन भारतबाट आयात हुनेछ । त्यसमा २५० देखि ३५० प्रतिशतसम्म महशुल लाग्ने सन्दर्भमा भारतको तुलनामा नेपालमा यातायातका साधनहरु ज्यादै महङ्गो पर्ने भएकोले सो सम्झौता अनुसार नेपालमा भारतिय नम्बर प्लेटका सवारी तथा ढुवानीका साधनहरु मात्र प्रयोगमा आउने देखिन्छ ।
यसबाट नेपालमा यातायातका साधनहरु पैठारी गरी व्यवसाय सञ्चालन गर्ने व्यवसायी लगायत अटोमोवाइल व्यवसायसंग सम्बन्धित वा आश्रित अन्य कुनै पनि व्यवसायीले आफ्नो व्यवसाय नै छोड्नुपर्ने अवस्था आउने भएकाले यसतर्फ गम्भिरतापूर्वक मनन् गरी अघि बढ्न नाडाको सुझाव छ ।
सरकारले हालै अध्यादेश मार्फत देशको विकासलाई अघि बढाउने र अर्थतन्त्रलाई गतिशिल बनाउन बाधक देखिएका विभिन्न ऐनका बुँदामा परिवर्तन गरेको छ । खासगरी कालोबजार नियन्त्रण ऐनमा व्यवसायीले २० प्रतिशत भन्दा बढी मुनाफा कमाउन नपाउने व्यवस्था हटाइएको छ । जसका लागि नेपालको नीजिक्षेत्रले दशकौँ देखि सरकारलाई सुझावहरु दिदै आएको थियो ।
अहिले सरकारले त्यसको आवश्यकता, उदार र खुल्ला बजार अर्थतन्त्रको मूल मर्मलाई महशुस गरी त्यसका बाधालाई हटाएकोे छ । त्यो निश्चय नै सराहनिय छ । खस्कदै गएको नेपालको अटोमोवाइल व्यवसाय र देशको समग्र अर्थतन्त्रमा सुधार ल्याउन र उपयुक्त व्यावसायिक वातावरण निर्माण गर्न नाडाले पटक–पटक सरकारलाई विभिन्न सुझावहरु दिदै आएको छ ।
यसैगरी नाडाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा एजेन्सी संशोधन र एकिकरणका सम्बन्धमा पनि ४ बुँदे सुझाव र नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिसंग सम्बन्धित ६ बुंदे सुझाव समेत दिएको छ ।
Comments are closed.