काठमाडौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरुमा हानिएका प्रत्येक चौका वापत विद्यार्थीलाई चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुसार शैक्षिक सामग्रीको वितरण शुरु गरेको छ । यसै कार्यक्रम अन्तर्गत मंगलबार लुम्बिनी प्रदेशका ३ विद्यालयमा ४४६ वटा शैक्षिक सामग्रीहरु वितरण गरिएको छ ।
क्रिकेटदेखि कक्षाकोठासम्मको यो पहलमा क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका खेलमा हानिने प्रत्येक चौका वापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गत मङ्सिरमा गरेको थियो । यसले विद्यार्थीमा शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान पु¥याउने उद्देश्य राखेको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाईरेक्टर विषाखा लक्ष्मी खड्काले कपिलवस्तु नगरपालिका वडा नं १० का राष्ट्रिय माध्यमिक विद्यालय र मदरसा वहरुल उलूमका २६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् । एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले राप्ति सोनारी गाँउपालिका, वडा नं ४ मा रहेको बालकशान्ति प्राथमिक विद्यालयका विद्यार्थीलाई १८६ शैक्षिक सामग्री वितरण गरेका छन् ।
विद्यार्थीहरुले प्राप्त गरेका प्रत्येक शैक्षिक सामग्रीमा शैक्षिक सामग्रीहरु जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश छन् । यस पहल अन्तर्गत एनसेल फाउन्डेसनले एनपीएलमा हानिएका ६५३ चौका वापत कुल २६१२ वटा शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गर्नेछ । कपिलवस्तुका दुई विद्यालयले एनसेल फाउन्डेसनको फेसबुक पेजबाट यस पहलका बारेमा थाहा पाएपछि एनसेल फाउन्डेसनसँग सहयोगको लागि अनुरोध गरेका थिए, भने बालकशान्ति विद्यालयले एनसेलको नेपालगञ्ज कार्यालयमार्फत सहयोगको लागि अनुरोध गरेको थियो ।
एनपीएलका लागि एनसेलको साझेदारी र प्रत्येक चौका वापत ४ वटा शैक्षिक सामग्रीको वितरण कम्पनीको ‘हामी तपाईंकै लागि’ भन्ने थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धता अनुरुप रहेको थियो । एनसेल फाउन्डेसन महत्वपूर्ण सामाजिक आवश्यकता पूरा गर्न प्रभावकारी पहलमार्फत समुदायको समृद्धिमा योगदान पु¥याउन प्रतिबद्ध रहेको छ ।
Comments are closed.