नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु

काठमाडौं । ‘खेलौं रमाऔं खेलकुद उत्सव मनाऔं’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा खेलकुद सप्ताह सुरु भएको छ । विद्यार्थी भित्र अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कलेजले हरेक वर्ष खेलकुद सप्ताह आयोजना गर्ने गर्दछ ।

बिहीबार एक कार्यक्रमका बीच कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले खेलकुद सप्ताहको उद्घाटन गर्दै पढाईसँगै विद्यार्थीको कला र प्रतिभालाई उजागर गर्न कलेज सधैँ सकारात्मक रहेको बताए । ‘खेलको माध्यमबाट विद्यार्थीमा रहेको प्रतिभालाई अगाडी ल्याउन कलेज सदैव प्रतिबद्ध छ, यहाँहरुले अनुशासनमा रहेर आफ्ना प्रतिभालाई उजागर गर्नुहोला ।’ खेलकुदकै माध्यमबाट पनि विद्यार्थीहरु जीवनमा सफल बन्न सक्ने उनी बताउँछन् ।

खेलकुद सप्ताहमा स्नातक तह वीई तथा विआर्कमा अध्ययनरत करिब दुई हजार विद्यार्थी संलग्न रहेको कलेजका मिडिया रिलेसन अफिसर आशिष झाले जानकारी दिए । खेलकुद सप्ताह अन्तर्गत फुटवल, भलिवल, कवर्डी, बास्केटवल लगायतका दुई दर्जन प्रतियोगिताहरु चल्ने कलेजका विद्यार्थी कल्याण शाखाले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ । प्रतियोगिताको फाइनल सकिदै जादा विजयी विद्यार्थीलाई दैनिक रुपमा मेडल तथा प्रमाणपत्र वितरण गरिनेछ । प्रतियोगिता असार ३० गतेसम्म चल्ने जनाइएको छ ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरु मध्ये नेक उत्कृष्ट इन्जिनियरिङ कलेज हो ।

You might also like

Comments are closed.