पाहुनाको रोजाईमा पर्न सफल मजेष्टिक लेक फ्रण्ट होटलले मनायो प्रथम वाषिकोत्सव

पोखरा । पोखराको लेकसाइडमा रहेको ‘मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुईट्स प्रालि’ले प्रथम वाषिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा फेवाताल सरसफाई तथा कर्मचारी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

होटलले वार्षिकोत्सवको अवसर पारेर फेवातालमा रहेको जलकुम्भी झार, प्लाष्टिक, बोतल लगायत फोहर सामग्री सङ्कलनसहित ताल सरसफाई गरिएको सञ्चालक सुनिलबहादुर भट्टराईले जानकारी दिए । ताल सरसफाईमा होटल सञ्चालक भट्टराई, उनको परिवारसँगै ६० जना कर्मचारी सहभागी थिए ।

वार्षिकोत्सवको अवसरमा हेड अफ डिपार्टमेन्ट अफ दी ईयरबाट सेफ राजेश सुनुवार, ईम्प्लोयी अफ दी ईयरबाट रेशम थापा, ईम्प्लोयी अफ दी मन्थबाट शुक्रकुमारी आले र राइजिङ ईम्प्लोयी अफ दी ईयरबाट कृष्ण पौडेललाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको छ । कर्मचारीलाई काममा उत्प्रेरणा प्रदान गर्न सम्मान गरिएको भट्टराईले जानकारी दिए ।

पाहुनाको रोजाईमा पर्न सफल

पोखरामा सञ्चालनमा आएको ‘मजेष्टिक लेक फ्रन्ट होटल एण्ड स्विट्स’ले आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा प्रदान गरिरहेको छ । होटल पाहुनाको रोजाईमा पर्न सफल छ । ट्रिप एडभाइजरले यो होटललाई पोखरा क्षेत्रको उत्कृष्ट पाँच होटल भित्र पारेको सञ्चालक भट्टराईले जानकारी दिए ।

करिब ४ रोपनी जग्गामा सञ्चालनमा आएको होटलमा १५ करोड रुपैयाँ लगानी छ । होटलमा ५ वटा स्विट, ६ वटा फेमिली रुमसहित ३६ वटा रुम छन् । आकर्षक रेष्टुरेन्ट, स्विमिङ पुल, हल, स्पा लगायतको सेवा होटलमा उपलब्ध छ । स्विमिङपुलसँगै बारको सेवा पनि उपलब्ध छ । शान्त वातावरणमा सञ्चालित होटलबाट फेवातालसहित वरपरको हरियाली दृश्यलाई नजिकबाट नियाल्न सकिन्छ ।

रेष्टुरेन्टमा कन्टिनेन्टलसहित सबै प्रकारका खाना तथा खाजाका परिकार उपलब्ध छ । ‘पोखरामा सुविधासम्पन्न होटलको आवश्यकता महसुस गरी लगानी गरेको हुँ,’ सञ्चालक भट्टराईले भने, ‘मजेष्टिक लेक फ्रन्टमा आउने पाहुनाले फरक खालको अनुभूति गरिरहेका छन् । होटलमा ६० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

You might also like

Comments are closed.