बबि ब्यूटी सैलुनको सहयोगमा कुँडहर आधारभूतका विद्यार्थीलाई छात्रवृत्ति तथा दिवा खाजा वितरण

पोखरा । पोखरा १० बुद्धचोकमा रहेको बबि ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टरले आफ्नो ११ औँ वार्षिकोत्सवको अवसर पारी कुँडहर आधारभुत विद्यालयमा छात्रवृत्ति तथा दिवा खाजा प्रदान गरेको छ । विद्यालयमा अध्ययनरत १४ विद्यार्थीलाई छात्रवृत्ति र दिवा खाजा प्रदान गरेको हो ।

प्रध्यानाध्यापक नन्दकिशोर बरालले जेहेन्दार र आर्थिक विपन्न भएका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति र दिवा खाजा सहयोग गरेकोमा धन्यवाद दिए । विद्यालयको स्तरोन्नतीका लागि प्रत्येक वर्ष तिहारको अवसरमा देउसीभैलो कार्यक्रममार्फत आर्थिक रकम सङ्कलन गर्दै आइरहेको बताउँदै उनले आगामी वर्षमा आयोजना हुने देउसीभैलो कार्यक्रममा समेत बबि ब्यूटीपार्लरको तर्फबाट सहयोगको अपेक्षा राखे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता तिमिल्सिनाले सरकारी विद्यालय सञ्चालन गर्न गाह्रो रहेको र विभिन्न व्यक्ति तथा संघ संस्थाको सहयोगबाट नै सरकारी विद्यालय सञ्चालनका लागि सहयोग पुुगेको बताए । सरकारले विद्यालयलाई आवश्यक पर्ने कुनैपनि सामाग्रीहरु प्रदान नगरेकै कारणपनि सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले निजी विद्यालयमा झै सिकाइमा प्रभावकारी ढंगले अगाडी बढ्न नसकेको उनको भनाइ छ ।

बबि ब्यूटी सैलुनका सञ्चालक बबिता केसी कार्कीले स्थापनाकाल देखी नै वार्षिकोत्सवको अवसर पारी विभिन्न सामाजिक काम गर्दै आइरहदा यस पटक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पढाइमा केही सहयोग पुुगोस भन्ने अभिप्रायले कुँडहर विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी छात्रवृत्तिका साथै दिवा खाजा प्रदान गरिएको बताइन् ।

आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिदै जाने उनले बताइन् । सो अवसरमा पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य नरदेवी गुरुङ, बबि ब्यूटी सैलुुनका म्यानेजर सन्तोष कार्की, विद्यालयका शिक्षक प्रतिनिधि टेकबहादुर थापा, शिक्षक अभिभावक संघका सदस्य रितु केसी लगायत सहभागी थिए ।

बबि ब्यूटी सैलुनले वार्षिकोत्सवको अवसर पारेर अघिल्ला वर्षमा जस्तै यस वर्षपनि पोखरा महानगरपालिकाका वडाहरुले सिफारिसको आधारमा निःशूल्क ब्यूटिसियन तालिम प्रदान गर्ने सैलुनका म्यानेजर तथा ब्यूटीसियन सुमित्रा केसीले जानकारी दिइन् । वार्षिकोत्सवको अवसर पारी ब्यूटीपार्लरबाट हुने हरेक सेवामा विशेष छुट प्रदान गरिनेछ ।

You might also like

Comments are closed.