वीरगञ्ज (पर्सा) । पर्सामा महिला उद्यमीको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । घरेलु तथा तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ३९९ महिलाका नाममा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । सोही आवमा पुरुषका नाममा ५४४ उद्योग दर्ता भएका छन् । गत आवमा ८९७ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।
सरकारले महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग दर्ता गरे ३५ प्रतिशत छुट दिने प्रावधानले महिला उद्यमीका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको हो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धञ्जयकुमार सिंहका अनुसार छुट पाउने प्रावधानकै कारण महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको छ ।
“विगतमा महिला उद्यमी सञ्चालक भएर उद्योग दर्ता गर्ने चलन थिएन । अहिले सरकारले दर्ता शुल्कमा छुट दिने व्यवस्था गरेसँगै महिला उद्यमी सञ्चालक भएर उद्योग दर्ता गर्ने क्रम बढेको छ”, उनले भने । अझै पनि पुरुषकै स्वामित्वका उद्योगको सङ्ख्या धेरै छ ।
कार्यालयका अनुसार आव २०७९/८० मा १ हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए । सो आवमा नयाँ दर्ता भएका उद्योगमा महिला उद्यमीको स्वामित्व भएको सङ्ख्या ४५० र पुरुष उद्यमीको स्वामित्व भएका भने ६५४ रहेका छन् ।
गत आवमा दर्ता भएका नयाँ उद्योगले ४ हजार ७३३ जनालाई रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ । त्यसमध्ये ३ हजार ४५५ पुरुष र १ हजार २७८ महिलालाई रोजगारी दिने क्षमता रहेको छ । कार्यालयले गत आवमा नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर रु ८० लाख १२ हजार १५० राजस्व आम्दानी गरेको छ ।
कार्यालयले आव २०७९/८० मा दर्ता भएका नयाँ घरेलु तथा साना उद्योगले ५ हजार ४६० जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ । त्यसमध्ये ३ हजार २४७ पुरुष र १ हजार २१३ महिलालाई रोजगारी दिनसक्ने क्षमता छ । कार्यालयले अघिल्लो आवमा नयाँ दर्ता भएका साना तथा घरेलु उद्योगबाट रु १ करोड ६ लाख ३९ हजार राजस्व सङ्कलन गरेको थियो । रासस






Comments are closed.