व्यापार शिखर सम्मेलनमा नेपाल—भारत उद्योग वाणिज्य संघ वीरगञ्ज च्याप्टर सहभागी

काठमाडौं । व्यापार शिखर सम्मेलनमा नेपाल—भारत उद्योग वाणिज्य संघको वीरगञ्ज च्याप्टरका अध्यक्ष अभिषेक चौधरीको नेतृत्वमा च्याप्टरको प्रतिनिधिमण्डलले सहभागीता जनाएको छ । भारतको राजधानी नयाँदिल्लीमा पहिलो पटक भारत सरकारको परराष्ट्र मन्त्रालय र भारतीय उद्योग परिसंघ (सीआईआई) को सहयोगमा ३ दिने व्यापार शिखर सम्मेलनमा आयोजना भएको हो ।

सम्मेलनको पहिलो संस्करणले बहु—क्षेत्रीय प्राविधिक र आर्थिक सहयोगको लागि बंगालको खाडी पहल (बीआईएमएसटीईसी) का सदस्य देशहरू बीच बलियो व्यापार र लगानी सम्बन्धमार्फत क्षेत्रीय सहयोगलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ । भारतका परराष्ट्र मन्त्री डा. एस. जयशंकरले व्यापार शिखर सम्मेलनको उद्घाटन गरेको सम्मेलनमा वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल लगायतका अन्य नेताले मुख्य सम्बोधन गरेका छन् ।

व्यापार, वाणिज्य र उद्योग, साथै ऊर्जा क्षेत्रका बीआईएमएसटीईसी सदस्य राष्ट्रका मन्त्रीहरू, उच्च—स्तरीय सरकारी अधिकारीहरू, नीति निर्माताहरू, उद्यमीहरू र उद्योग संघहरूले कार्यक्रममा भाग लिएका हुन् । कार्यक्रममा बंगालको खाडी क्षेत्रका ३ सय भन्दा बढी प्रमुख हितधारकलाई आर्थिक सहयोगलाई सहज बनाउन र व्यापार सहजीकरण, क्षेत्रीय सम्पर्क, ऊर्जा सुरक्षा, समावेशी वृद्धि र दिगो विकास जस्ता मुख्य क्षेत्रमा अगाडि बढ्ने मार्गको खोजी गर्न एकतृत गरिनेछ ।

भारतले बंगालको खाडी बहु—क्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बीआईएमएसटीईसी) लाई ठूलो महत्व दिएको छ । यस सम्मेलनले दक्षिण एसियाका ५ देशहरू (बंगलादेश, भूटान, नेपाल, भारत र श्रीलंका) र दक्षिण—पूर्व एसियाका दुई देशहरू (म्यानमार र थाईल्याण्ड) लाई जोड्छ । सम्मेलनमा सहभागी हुन नेपालका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सहभागीता जनाएका छन् । सम्मेलन दोश्रो दिन विभिन्न सत्रमार्फत ७ राष्ट्रका विषयगत छलफल सम्पन्न भएको छ ।

नेपाल—भारत उद्योग वाणिज्य संघको वीरगञ्ज च्याप्टरको प्रतिनिधीमण्डलले भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल, नेपालका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, र भारतीय उद्योग परिसंघ (सीआईआई) का अध्यक्ष संजीव पुरीसंग भेटघाट गरेको छ । हाल भारतीय उद्योग परिसंघ (सीआईआई) का अध्यक्ष रहेका संजीव पुरी भारतीय संयुक्त लगानीमा आई.टि.सी. ईण्डिया लिमिटेडको नेपालमा रहेको सूर्य नेपाल प्रालिमा सन् २००० को दशकको शुरुका ४ वर्ष प्रवन्ध निर्देशकका रुपमा कार्यरत रहेर काम गरिसकेका छन् ।

सोही अवधीमा उनी नेपाल—भारत उद्योग वाणिज्य संघको केन्द्रीय कार्यसमिति सदस्यको रुपमा पनि कार्यरत रही नेपालको उद्योग व्यापार, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा नजिकबाट जानकार छन् । सम्मेलनमा नेपाल—भारत उद्योग वाणिज्य संघका वीरगञ्ज च्याप्टरका ३ विभिन्न समितिका संयोजकहरु चन्दन सिंह, सुमित केयाल तथा दिपेश अग्रवालको साथै संघको केन्द्रीय सदस्य एवं उर्जा उद्यमी सुशन कर्माचार्य सहभागी थिए ।

 

 

 

 

You might also like

Comments are closed.

Secret Link