मनसुनमा पर्यटक आगमन घट्यो

गण्डकी । घुमफिरका लागि ‘अफसिजन’ मानिने मनसुनमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमनमा गिरावट आएको छ । गत जेठमा ३४ हजार २३० विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा साउनमा जम्मा पाँच हजार सात सय १० पर्यटक आएका छन् ।

गत असारमा कूल १० हजार ७६८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रविन कडरियाले बताए । असोज लागेपछि पदयात्राका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्ने उनको भनाइ छ । “वर्षात्को याम पदयात्राका लागि अनुकूल नहुने हुँदा पर्यटक आगमन घटेको हो”, प्रमुख कडरियाले भने, “मनसुन पदयात्राका लागि पनि गन्तव्य पहिचान र प्रवद्र्धनको काम भइरहेकाले पछि यस याममा पनि पर्यटक आकर्षित हुन सक्छन् ।” असारदेखि भदौसम्मको यामलाई पर्यटन क्षेत्रका लागि ‘अफसिजन’का रुपमा लिने गरिएको उनले बताए ।

आयोजना प्रमुख डा कडरियाका अनुसार अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि असोजदेखि मङ्सिर र चैतदेखि जेठसम्मको समय उत्तम मानिन्छ । सोही याममा पर्यटक आगमन उल्लेख्य रुपमा बढ्ने गरेको छ । (एक्याप)को तथ्याङ्क अनुसार गत आवमा २ लाख २२ हजार १८० विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र भित्रिएकामा सबैभन्दा बढी चैत महिनामा ३५ हजार २६५ विदेशी पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए ।

गत आवमा एसियाली मुलुकका १ लाख १७ हजार ८४५ र अन्य मुलुकका १ लाख ४ हजार २५६ पर्यटक सो क्षेत्रमा आएका थिए । आव २०७९÷८० को तुलनामा झण्डै ५० हजार बढी पर्यटक गत आवमा भित्रिएका थिए । सो आवमा दक्षिण एसियाली मुलुकका ८९ हजार ७७७ र अन्य मुलुकका ८२ हजार ७३३ गरी कुल १ लाख ७२ हजार ५१० पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।

मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरेपनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेको आयोजना प्रमुख डा कडरियाले बताए । ‘एक्याप’ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर मुस्ताङ, मुस्ताङलगायतका ठाउँ छिर्ने आन्तरिक पर्यटकको सङ्ख्या एकीन नै गर्न नसकिने आयोजनाले जनाएको छ ।

यहाँको अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलले पर्यटकलाई लोभ्याउने गरेको छ । ७ हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् ।

अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्यक पर्यटकको रोजाइमा पर्ने गरेको छ । हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा चिनिन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिने पर्यटक पथप्रदर्शक दिवस गुरुङले बताए । रासस

You might also like

Comments are closed.