सेयर प्रो सेक्युरिटिज र एनएमबी क्यापिटल च्याम्पियन बने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको आयोजनामा भएको ईयूसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पियनसिपको उपाधि सेयर प्रो सेक्युरिटिज र एनएमबी क्यापिटलले जित्न सफल भएका छन् ।

बिहिबार ढुकु फुटसल हबमा भएको पुरुषतर्फको फाइनलमा सेक्युरिटिजले एसियन सेक्युरिटिजलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । त्यस्तै, महिला फाइनलमा एनएमबी क्यापिटलले सेबोनलाई पेनाल्टी शुटआउटमा २–१ ले हराएर च्याम्पियन बन्न सफल भएको छ । निर्धारित समयमा गोलरहित बराबरी भएपछि महिलाको फाइनल पेनाल्टी शुटआउटमा पुगेको थियो ।

jutta mela

यस प्रतियोगितामा धितोपत्र बजारसँग आबद्ध संस्थाका लागि पुरुषतर्फ ३१ र महिलातर्फ ९ टिमको सहभागिता रहेको बताइएको छ । शनिबार हुने भनिएको फाइनल भारी वर्षाका कारण रोकिएको थियो । पुरुष विजेताले १ लाख र उपविजेताले ६० हजार, जबकी महिला विजेताले ६० हजार र उपविजेताले ४० हजार पुरस्कार प्राप्त गरेका छन् ।

व्यक्तिगत विधाका पुरस्कारमा महिलातर्फ उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता सेबोनकी निशा थापा र उत्कृष्ट गोलरक्षक एनएमबी क्यापिटलकी निशा देवकोटा चुनिएका छन् । पुरुषतर्फ सेयर प्रो सेक्युरिटिजका अर्घ रेग्मी उत्कृष्ट खेलाडी, एसबीआई बैंकका पुजन खड्का सर्वाधिक गोलकर्ता र एसियन सेक्युरिटीजका प्रबिन पोखरेल उत्कृष्ट गोलरक्षक चुनिएका छन् ।

विजेता खेलाडीलाई राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विकेश कुथु र आयोजक युनियनका अध्यक्ष अजय ढुंगानाले पुरस्कार प्रदान गरेका हुन् ।

You might also like

Comments are closed.