काठमाडौं । यो सातामा कारोबारमा लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ५४ अङ्कले घटेर २ हजार ५९४ दशमलव १३ को बिन्दुमा कायम भएको हो ।
आज विभिन्न ३२२ कम्पनीका १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता शेयर ६४ हजार २७८ पटक खरिदबिक्री हुँदा रू ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूह १ दशमलव ८९, होटल तथा पर्यटन १ दशमलव ३६ र वित्त समूह १ दशमलव ३२ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ३५, विकास बैंक शून्य दशमलव ५८, जलविद्युत् शून्य दशमलव ४९, लगानी शून्य दशमलव ६० र जीवन बीमा शून्य दशमलव ५० प्रतिशतले घटेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७७, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ४२, निर्जीवन बीमा शून्य दशमलव ०२ र अन्य समूह शून्य दशमलव ६७ प्रतिशतले घटेको छ । आज बाराही हाईड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रू ४५ करोड २५ लाख ५१ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै माछापुच्छ्र्रे बैंक प्रमोटर शेयर ८ लाख ४९ हजार ८३३ कित्ता किनबेच भएको छ ।
Comments are closed.