मुल्डे पदमार्गका समस्या समाधान गर्न महिला पर्यटन व्यवसायी मञ्चको माग

पोखरा । मुल्डे भ्यु पदमार्गका समस्या सम्बन्धित निकायमा पु¥याइदिन स्थानीय पर्यटन व्यवसायीले पोखराका महिला पर्यटन व्यवसायीलाई आग्रह गरेका छन् । पोखराको महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को टोलीसँग मुल्डे भ्यु पार्क पर्यटन व्यवसायी समितिका अध्यक्ष राजमान गुरुङले आग्रह गरेका हुन् ।

पदमार्गमा खानेपानीको समस्या टड्कारो परेको उनले बताए । ‘मुल्डे भ्यु पार्क पदमार्गमा पदयात्रामा आउने पर्यटकको संख्या बढिरहेको छ, मुल्डेबाट सबैभन्दा नजिक रहेको दोबाटोमा खानेपानी ल्याउन डेढ घण्टा हिड्नुपर्छ,’ उनले भने, ‘सरकारले पानी ल्याइदिओस् ।’ अन्नपूर्ण क्षेत्रमा नयाँ पदमार्गका रुपमा स्थापित मुल्डे भ्यु पदमार्गका केही ठाउँमा रेलिङ हालेर पदयात्रा सुरक्षित गर्न सरकारले सहयोग गर्नुपर्ने उनी बताउँछन् ।

पोखराबाट ३ दिनमा समुन्द्री सतहदेखि ३६३७ मिटर उचाइमा रहेको मुल्डे भ्यु पार्क पुग्न सकिन्छ । मुल्डे भ्यु पार्कबाट सबैभन्दा नजिकको होटल रहेको स्थान दोबाटोबाट त्रिवेणी ताल (हिडन लेक) खोप्रो, छोमरोङ हुँदै अन्नपूर्ण बेस क्याम्प, घोरेपानी–पुनहिल लगायतका स्थानमा पदयात्रा गर्न सकिन्छ । पदमार्गमा नेपाली भन्दा विदेशी पदयात्री बढेको भन्दै मुल्डेबाट खोप्रो र त्रिवेणी ताल जान मन पराएको अध्यक्ष गुरुङले बताए ।

पोखराबाट ५ दिनको पदयात्रामा खोप्रो वा त्रिवेणी ताल पुग्न सकिने उनको भनाइ छ । ‘हामीलाई पानी र भीरमा रेलिङ हाल्न समस्या छ, खानेपानीको मुहानबाट दोबाटोमा पानी ल्याउन ५ किलोमिटर पाइप चाहिन्छ,’ उनले भने, ‘हाम्रो समस्या संवन्धित ठाउँमा राखिदिनुस्, यो ठाउँको प्रवद्र्धन गरिदिनुस् ।’ गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा पर्यटन मन्त्रालयबाट घान्द्रुक–टाढापानी हुँदै मुल्डे पदमार्ग मर्मत गर्न ३० लाख रुपैयाँ सहयोग भएको छ । सो बजेटबाट पदमार्गका केही ठाउँ मर्मत सम्भार भए पनि पर्याप्त भने छैन ।

ओटेफका सल्लाहकार नर्मला कँडेलले मुल्डे पदमार्ग अन्य स्थापित पदमार्ग भन्दा कम नरहेको बताइन् । पदमार्गको प्रवद्र्धन आवश्यक रहेको भन्दै उनले राजनीतिक नेतृत्वले पदमार्गका व्यवसायीका समस्या सुन्न नचाहेको जनाइन् । ‘मोटरबाटोले पुराना ट्रेकिङ रुट लोप हुँदा पर्यटक लैजानुपर्ने ठाउँ यही देखिएको छ,’ उनले भनिन्, ‘राजनीतिक नेतृत्वले चासो दिएन । गाउँपालिका पनि अहिलेसम्म नआएको रहेछ ।’

मुल्डे पदमार्ग जान कास्कीको घान्द्रुक गाउँबाट टाढापानी, मेसर हुँदै दोबाटो र घान्द्रुक हुँदै चुइले, टाढापानी हुँदै पनि दोबाटो–मुल्डे पदयात्रा गर्न सकिन्छ । मोटरबाटो र भीडभाड भएका पदमार्ग भन्दा यो पदमार्ग शान्त र सुन्दर रहेको ओटेफकी पूर्व अध्यक्ष पार्वती पाण्डेले बताइन् । ‘मुल्डे पदमार्ग एकदम राम्रो रहेछ, मोटरबाटोले अरु पदमार्ग बिग्रिएका बेला यो पदमार्ग विकल्प बनेको छ,’ उनले भनिन्, ‘हामी हाम्रो ठाउँबाट प्रवद्र्धन गर्छौ ।’

पोखराबाट मुल्डे भ्यु प्वान्ट पदयात्रा गरेका ओटेफका टोलीले घान्द्रुक, टाढापानी र छोमरोङका पर्यटन व्यवसायीसँग स्थानीय समस्या र समाधानका उपायका बारेमा छलफल गरेका छन् । टाढापानीस्थित होटल ग्राण्ड भ्यु लजकी सञ्चालक रामकुमारी गुरुङले महिला पर्यटन व्यवसायी पदमार्गको प्रवद्र्धनमा हिडेको देखेर खुशी व्यक्त गरिन् । उनले टाढापानीमा खानेपानी र लघु जलविद्युतबाट विजुली निकाल्न स्थानीय महिला व्यवसायीले सक्रिय अगुवाई गरेको जनाएकीछिन् ।

मुल्डे भ्यु पार्क पर्यटन व्यवस्थापन समिति अध्यक्ष गुरुङले राखेका समस्या सम्बन्धित निकायमा पु¥याउने ओटेफकी अध्यक्ष उमा रेग्मी भण्डारीले बताइन् । होटल, ट्राभल र ट्रेकिङ एजेन्सीमार्फत यो पदमार्गमा यात्रा गर्न पर्यटकलाई सिफारिस गर्ने उनको भनाइ छ । मुल्डे भ्यु नयाँ पदमार्गको ‘हब’ बन्न सक्ने देखिएको पनि उनले बताइन् । गण्डकी प्रेदश सांसद देवका पहारीले ओटेफले पर्यटन प्रवद्र्धन गर्न साहसिक काम गरेको बताइन् ।

गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा फागुन २३, २४ र २५ गते पदयात्रा भएको थियो । पदयात्रा टोलीलाई पर्यटन सचिव कुमानसिंह गुरुङ लगायतले विदाई गरेका हुन् । पदयात्रा कार्यक्रमका संयोजक रिता रेग्मी पौडेलले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा संस्थाले पदयात्रा गरेको जानकारी दिएकीछिन् ।

You might also like

Comments are closed.